यस्ता छन् कर्णाली मन्त्रिपरिषद्का निर्णय

सुर्खेतः कर्णाली मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले जाजरकोटको चुनीचाँदे गाउँपालिकाको केन्द्र तोक्ने विषयमा पनि निर्णय गरेको छ । यसअघि गाउँ कार्यपालिकाले तोकेको केन्द्रलाई प्रदेश मन्त्रिपरिषद्ले परिवर्तन गरेपछि त्यो विषय सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले गाउँपालिकाकै निर्णयलाई सदर गरेसँगै सोही निर्णय कार्यान्वयन गर्नका लागि प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय कर्णाली मन्त्रिपरिषद्ले गरेको हो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’ लाई पनि स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । बैठकले मन्त्रालयहरूको कामकारबाही अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ । तीन सदस्यीय उक्त समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सूचना तथा सञ्चार महाशाखाका उपसचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी सदस्य रहनेछन् । समितिले प्रत्येक मन्त्रालयको कामकाज, सूचनाको हक कार्यान्वयनको अवस्था र सूचना अधिकारीको कार्यसम्पादनबारे अनुगमन गर्नेछ ।

प्रकाशित मितिः   August 6, 2025 at 12:41 pm 


  • प्रतिक्रिया दिनुहोस्