
पृष्ठभूमिः
प्रायः राज्य वा सरकारका नियमित काम कारबाही तथा योजनाहरू नेतृत्वमा जो हुँदा पनि निरन्तर रूपमा कार्यान्वयन भइरहेका हुन्छन् । तर, रणनीतिक महत्वका, सिङ्गो समाज र राष्ट्रलाई प्रभाव पार्ने दूरगामी निर्णय तथा आयोजनाहरू सञ्चालन गर्न भने सरकारमा भिजनरी नेतृत्व आवश्यक पर्दछ । यस्ता कार्यहरू सक्षम र दृढ नेतृत्वबाट मात्रै सम्भव हुन्छ । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली त्यस्तै नेतृत्वको अग्रपंक्तिमा पर्नुहुन्छ, जसले मुलुकको योजनाबद्ध विकासको अगुवाइ गर्दै आउनुभएको छ । विगतमा होस् वा अहिले उहाँ प्रधानमन्त्री हुँदा देशमा केही महत्वपूर्ण र ऐतिहासिक कामहरू भएका छन् ।
केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला नेपालको संविधान २०७२ जारी पछाडिको भारतीय नाकाबन्दीको दृढतापूर्वक नझुकेर सामना गरियो । त्यसबेला भूपरिवेष्ठित देश नेपालले सामुद्रिक अधिकार प्रयोग गर्न पाएन । नेपालबाट भारतलगायत अन्य मुलुकमा हुने विभिन्न वस्तुहरूको आयात तथा निर्यात रोकियो । त्यसको विकल्पमा उत्तरी छिमेकी देश चीनसँग सामुद्रिक यातायातको प्रयोग गर्न पाउने अधिकारसहित पारवहन सम्झौता भयो जो नेपाली राष्ट्र र समाजको लागि दूरगामी महत्वको कार्य थियो । केपी शर्मा ओली दोस्रोपटक मुलुकको प्रधानमन्त्री भएका बेला ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्न तत्कालीन तथा दीर्घकालीन योजनाहरू अघि सारिए । जसले देशमा विकास र समृद्धिको आधार तयार गर्न तथा नागरिकहरूमा विश्वास जगाउन सरकार सफल भयो । एमालेले देशको स्वाभिमानको झण्डा उठायो । नेकपा (एमाले) नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिका काममा तिव्रता दियो । केपी शर्मा ओलीकै दोस्रो कार्यकालमा पूर्वाधार निर्माण, पूनर्निमाणका कामसँगै कोरोना महामारी (कोभिड–१९) को सामना गर्न सरकार सफल भयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनका लागि सयौं ऐन तथा कानूनहरू निर्माण र पारित गर्ने काम भए । राजनीतिक स्थिरता कायम गर्न स्थिर सरकार निर्माण गरी देशमा विकासको लहर सिर्जना गर्ने कार्यको थालनी भयो ।
प्रतिनिधिसभा तथा राष्ट्रियसभाको दुईतिहाइ (करिब सर्वसहमति)मा हाम्रो नक्साबाट गुमेको नाभी, कुटी, गुञ्जी, लिपुलेक, लिम्पियाधुरासहित महाकाली पारिको झण्डै ३९५ वर्ग किलोमिटर भू–भाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने काम भयो । ‘चुक्चे नक्सा’ जसले देशको मानचित्र नै बदलिदियो । त्यसपछि नेपाली राजनीतिमा राष्ट्रियता, संविधानको कार्यान्वयन, संघीयता र लोकतन्त्रको रक्षाजस्ता सवालमा ऐतिहासिक एवम् उल्लेखनीय कामहरू भए । संविधान, संघीयता र लोकतन्त्रको सफल प्रयोगसँगै मुलुकले विकासको यात्रामा रफ्तार लियो । यसले गर्दा मुलुकको विकास र समृद्धिका लागि एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली नै आवश्यक छन् भन्ने भाष्य स्थापित भयो । तर नेपालको राष्ट्रिय राजनीतिमा त्यसपछि एकाएक उतारचढावहरू आए । आन्तरिक पार्टी जीवनमा फुट र विभाजनका घटना देखिए । जसले गर्दा मुलुकको राजनीति अपेक्षित रूपले अघि बढ्न सकेन । विकास, रोजगारी र समृद्धिको यात्रा अवरूद्ध बन्यो । यसका पछाडि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणहरू थिए । थुप्रै खाले आक्रमण र षडयन्त्रहरूबाट पार्टीलाई बचाउँदै व्यवस्थित एवम् सुदृढ गरी एमाले तथा यसको नेतृत्व अगाडि बढ्यो ।
वि.सं. २०७८ मंसिरमा चितवनको सौराहमा पार्टीले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यो। मूलतः यो एकताको महाधिवेशन थियो । सोही महाधिवेशनबाट एमालेले पार्टीलाई थप बलियो बनाउने संकल्प गर्यो । वि.सं. २०७९ मंसिरमा सम्पन्न स्थानीय तह तथा प्रदेश र संघको निर्वाचनमा लोकप्रिय मतका साथ एमाले जनताको रोजाइँको पहिलो पार्टी बन्न सफल भयो । त्यतिबेला सिट संख्याका हिसाबले एमाले दोस्रो ठूलो दल बन्यो । तत्कालीन अवस्थामा सरकारको नेतृत्व गरेर विगतमा आफ्नो नेतृत्वको सरकारले सुरूवात गरेका काम सम्पन्न गर्ने, संविधानको पूर्णरूपमा कार्यान्वयन गर्दै संघीयता, लोकतन्त्र, समानुपातिक तथा समावेशी सिद्धान्तको मर्मअनुरूप मुलुकलाई अघि बढाउने योजना थियो । त्यसबेला सोचेअनुरुप राजनीतिक कोर्ष अघि बढ्न सकेन । निर्वाचन परिणामले अपेक्षित साथ नदिएपछि एमाले विपक्षी दलका रूपमा रहयो । यसै सेरोफेरोमा एमालेले २०७९ को निर्वाचन पश्चात २०७९ फागुन ५ देखि २०८० वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरूट’, (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) सञ्चालन गर्यो । यो पार्टी निर्माण तथा समीक्षाको अभियान थियो । यसले पार्टी जीवनलाई सुदृढ, विस्तार र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्यो । मिसन ग्रासरूट, मध्यपहाडी सङ्कल्प यात्रा र वडा केन्द्रीत संगठन सुदृढीकरण ‘जरा’ अभियान जस्ता महत्वपूर्ण अभियानहरू सफलतापूर्वक सम्पन्न गरेर पार्टी बलियो राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित मिसन–८४ को अभियानमा होमिएको छ । एमालेले यतिबेला नेपाली कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गरिरहेको छ । वि.सं. २०८४ मा हुने आगामी निर्वाचनमा एमालेलाई सर्वाधिक ठूलो दल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने उद्देश्य तथा सोचका साथ पार्टीका गतिविधिहरू अघि बढिरहेका छन् ।
पार्टी र राष्ट्र निर्माणको अभियानः
लोकतान्त्रिक तथा बहुदलीय व्यवस्था भएका देशहरूमा सरकारको नेतृत्व राजनीतिक पार्टीहरूले गर्दछन् । मिसन–८४ को सरल परिभाषा भनेको आगामी २०८४ मा हुने आम निर्वाचनमा नेकपा ‐एमाले) लाई देशको सर्वाधिक ठूलो अथवा निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नु हो । यसका लागि आधारहरू तयार गर्ने अभियान नै मिसन–८४ हो । एमालेलाई बलियो र निर्णायक शक्ति बनाउन कस्तो पार्टी निर्माण गर्ने भन्ने अहिलेको यक्ष प्रश्न हो । एमालेले अघि सारेका नीति, कार्यक्रम, योजना र नेतृत्वले मात्रै मुलुकमा दिगो विकास, सुशासन र समृद्धिको अभियान अगाडि बढ्दछ । त्यसकारण राजनीतिक स्थायित्वसहितको स्थिर सरकारको नेतृत्व एमालेले गर्नुपर्दछ भन्ने सोच र उद्देश्यसँग पार्टी निर्माण तथा मिसन–८४ जोडिएको छ । एमालेले खासगरी पार्टी निर्माण र राष्ट्र निर्माणका दुई अभियानलाई सँगसँगै लगेको छ । राष्ट्र निर्माणको यात्रामा जुटिरहदा अवश्यै पनि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्दछ । त्यसका लागि आगामी निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको अवस्था छ । आगामी निर्वाचनमा बहुमतसहितको पहिलो शक्ति बन्ने र पार्टीले सुरू गरेको समृद्धि अभियानलाई पूर्णता दिने एमालेको राष्ट्रिय प्राथमिकता हो । त्यसको आधार तयार गर्नेक्रममा पार्टीलाई सुदृढ, व्यवस्थित र एकताबद्ध बनाउने अभियान निरन्तर चलिरहेको छ ।
पार्टी निर्माणका समस्याः
वि.सं. २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनको पर्यटकीय स्थल सौराहामा पार्टीको दशौँ महाधिवेशन सम्पन्न भएपश्चात र वि.सं. २०७९ को निर्वाचन परिणामपछि एमाले व्यवस्थित पार्टी निर्माणको अभियानमा जुटेको हो । एकप्रकारको हुटहुटी र मेहनतका साथ पार्टी केन्द्र योजना बनाउने तथा त्यसको कार्यान्वयन गर्ने काममा निरन्तर लागिरहेको छ । सोहीबमोजिम प्रदेश, जिल्ला र पालिका स्तरमा भने कामले गति तथा परिणाम दिन नसकिरहेको एउटा अवस्था छ । पार्टी निर्माणको अभियानमा देखिएका केही समस्यालाई यहाँ चर्चा गर्न खोजिएको छ ।
नेकपा (एमाले)ले पहिचान गरेको मुख्य समस्या सैद्धान्तिक र वैचारिक हो । पार्टीमा खासगरी विचारधारात्मक कामको कमी रहेको देखिन्छ । पार्टीपंक्तिमा पार्टीको विचार र सिद्धान्तका विषयमा चासो कम भएको पाइन्छ । पार्टी नेता तथा कार्यकर्ताहरूमा विचारधारात्मक काममा कमी हुनुका साथै कतिपय पार्टी कमिटीहरूमा प्रशिक्षणहरू यथोचित नभएको पाइएको छ । पार्टीपंक्तिमा संगठनात्मक अराजकता बढ्नु पनि पार्टी निर्माणको समस्याका रूपमा देखिएको छ । त्यस्तै, नियमित र तहगत कमिटीहरुलाई प्रशिक्षणको अभाव, समाजवादको आधार निर्माण गर्ने पार्टीको राजनीतिक कार्यदिशासँग जनप्रतिनिधिको भूमिकालाई जोड्न नसकिएको, जसका कारणले विगतमा विजय प्राप्त गरेका पालिकाहरूमा पनि पराजय भोग्नु परेको छ । निर्वाचनमा उम्मेदवारी छनोटका आधारहरूको कार्यकर्तामा स्पष्टताको समस्या रहेको छ ।
पार्टीमा घात अन्तर्घात गर्ने समस्या पनि जटिल छ । आफू भए उम्मेदवार नभए नातावाद÷कृपावादका कारण उम्मेदवार भएको आरोप लगाउने प्रवृत्ति पार्टीपंक्तिमा देखिने गरेको छ । निर्वाचनमा बागी उम्मेदवार बन्ने र आफ्नै पार्टीको उम्मेदवारका विरुद्ध लाग्ने प्रवृत्ति देखिनु पार्टी निर्माणका देखिएको अर्को चुनौती हो । यस्तै, व्यक्तिवादी र अहंकारी सोच देखापर्नु, पार्टी प्रवेशको महत्व बुझ्ने र प्रवेशीलाई जिम्मेवारी दिने सन्दर्भमा संकिणता देखाउनु, पुराना र नयाँ प्रवेशीहरूको सन्तुलन तथा जिम्मेवारी व्यवस्थापनमा कमी रहनु पनि समस्याका रुपमा पार्टीले औंल्याएको छ । नयाँ सदस्यता वितरण, नवीकरण, लेवी संकलन, नियमित भेला तथा प्रशिक्षणमा कमी, जनप्रतिनिधि र पार्टी कमिटीहरुबीच समन्वय तथा तालमेलको अभाव हुने गरेको छ । पार्टी र जनसंगठनमा दोहोरो जिम्मेवारी भएकाले दुबैतिर जिम्मेवारी पुरा नगर्ने, कतिपय कमिटीहरूमा आन्तरिक विश्वास र एकतामा कमी रहेको छ । पालिका, वडा र टोलकमिटीमा नियमित बैठक नगर्ने समस्या, वडा तथा टोलस्तरका कमिटीहरूले बैठकका एजेण्डा के बनाउने भन्ने अन्योलहरू देखापर्ने गरेका छन् ।
पार्टीमा युवा सहभागिता उल्लेखनीय हुन नसकेको, पार्टीका औपचारिक कार्यक्रम परिणाममुखीभन्दा पनि प्रक्रियामुखी बढी हुने गरेका, कार्यक्रम र बैठकप्रतिको गाम्भीर्यतामा कमी, नेता–कार्यकर्ताको सामाजिक काम तथा अभियानहरूमा सहभागिता घट्दै गएको जस्ता समस्याहरू छन् । पार्टी कार्यकर्ता र जनताबीचको सम्बन्ध पातलो बन्दै गएको, सम्भावनायुक्त नेताहरूको खोजि ‐लिडरसीप हन्ट) गर्न र त्यस्ता व्यक्तिहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा विकास गर्न समुचित ध्यान नपुगेको देखिन्छ । त्यसै गरी, पार्टीमा देखिएका अन्तरविरोधको समाधानमा ध्यान नपुगेको, जनसंगठनलाई संगठनात्मक काममा स्वायत्तता र पार्टीको वैचारिक नेतृत्वका आधारमा सञ्चालन गर्ने सवालमा कमी रहेको, दक्षिणपन्थी अवसरवाद, संकिणतावाद, व्यक्तिवाद र अवसरवाद विरुद्धको संघर्ष सशक्त बन्न नसकेको, विचार, शैली, आचरण र व्यवहारमा जनमुखी हुन नसक्नु समस्याका रूपमा रहेको छ । कतिपय नेताहरूको व्यवहार सरल र व्यवहारिक नहुनु, इन्दारीतापूर्वक काम गर्ने नेता–कार्यकर्ताले अवसर पाउन नसकेको, पार्टी कार्यक्रम र नेतृत्वका विषयमा अनावश्यक टिकाटिप्पणी गर्ने प्रवृत्तिहरू देखिँदै आएका छन् । अरूले सम्पादन गरेका कामको जस पनि आफै लिन खोज्ने, आलोचनाबाट डराउने, भाग्ने तथा कसैले आलोचना गरिहाले धैर्य नबन्ने, नसुन्ने र गम्भीरतापूर्वक ग्रहण नगर्ने प्रवृत्ति देखिएका छन् ।
आलोचना गर्नेहरूप्रति पूर्वाग्रही बन्ने, आफूले सम्मान खोज्ने तर अरूलाई सम्मान नगर्ने, परिणामभन्दा पनि मञ्चमात्र खोज्ने समस्याहरू रहेको देखिन्छ । अधिवेशनहरुमा पद लिन मरिहत्ते गरेपनि त्यसपछि पद तथा जिम्मेवारी अनुसारको काम नगर्ने, जिम्मेवारीबाट भाग्ने, पन्छिने समस्या छन् । त्यस्तै, जिम्मेवारीअनुसारको योग्यता र क्षमताको विकास नगर्ने, युवाहरूलाई संगठित गर्ने, जिम्मेवारी दिने र परिचालन गर्ने विषयमा कमी देखिएको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूमा एक–आपसमा बेमेल तथा आन्तरिक समस्याहरू रहेको, पार्टीका नेता–कार्यकर्तामा भावनात्मक एकताको कमी देखिनुजस्ता समस्या तथा चुनौतीहरू पार्टी केन्द्रले यसअघि सञ्चालन गरेका विभिन्न अभियानहरूको क्रममा सुक्ष्म तरिकाले पहिचान, संकलन र विश्लेषण गरेको थियो ।
अबको कार्यभारः
१. पार्टीको मूल वैचारीक तथा राजनीतिक सिद्धान्त, विचार र मूल्य–मान्यताको मार्गदर्शमा रहेर समाजवादको आधार तयार गर्ने योजनाका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्ने संकल्पसहित सबै तहका पार्टी कमिटीका पदाधिकारी, सदस्य, जनसंगठनका कमिटी एवम् पार्टी सदस्यहरूलाई नियमित रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
२. पार्टी तथा जनवर्गीय संगठनका टोल, वडा, शाखा, पालिका, जिल्ला, प्रदेश, केन्द्रीय कमिटीसम्मका सबै कमिटीलाई नियमित एवम् सक्रियताका साथ बैठक, प्रशिक्षण, भेला, सम्मेलन, सामाजिक तथा रचनात्मक काम र अभियानमा परिचालन गर्ने ।
३. विधान बमोजिमका कमिटी संरचना र संख्या तोकेर पार्टी तथा जनसंगठनमा सदस्य संख्या व्यापक रूपमा वृद्धि गर्ने ।
४. पार्टी कमिटी तथा जनवर्गीय संगठनमा देखिएका आन्तरिक समस्या र अन्तरविरोधको समाधान गर्ने, पार्टीपंक्तिको बलियो एकता र भावनात्मक सम्बन्ध कायम गर्ने ।
५. पार्टी कमिटी तथा जनवर्गीय संगठनका हरेक कमिटी र सदस्यहरू बनाउँदा अन्तरपार्टी निर्देशन तथा प्राथमिकताका साथ युवा पुस्तालाई समावेश गर्ने ।
६. समाजका सचेत, प्रगतिशील, अग्रगामी, नवप्रतिभाशाली तथा स्थापित व्यक्तित्वहरूलाई पार्टीमा समावेश गराउने ।
७. पार्टी कमिटी तथा जनसंगठनका प्रत्येक सदस्यले पार्टीको नीति, योजना, कार्यक्रम र नेतृत्वलाई स्थापित गर्न सामाजिक सञ्जालहरूको प्रयोगमा जोड दिने ।
८. जनताको जीवनस्तर रूपान्तरण हुनेगरी आर्थिक विकास र समृद्धिको अभियानको नेतृत्व गर्ने ।
९. जनताको दैनिक जीवन र समाजको अग्रगामी रूपान्तरण तथा परिवर्तनसँग जोडिएका हरेक प्रकारका सामाजिक कार्य एवम् अभियानमा सहभागी भएर नेतृत्व प्रदान गर्ने ।
लेखक, नेकपा (एमाले) सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख हुन् ।
प्रकाशित मितिः August 1, 2025 at 9:55 pm























कर्मसञ्चार । २०८२ साउन १६ गते शुक्रवार