
सुर्खेत, ११ पुस ।
चर्चामा आउन बेसुरका भाषण गर्ने नेताको अग्रपंक्तिमा पर्छन् कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । मुख्यमन्त्री भएयता झन्डै एक वर्षको अवधिमा उनी दैनिकजसो विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित हुन्छन् । होटलमा हुने अन्तरक्रिया होस् या विपदमा परेका पीडित परिवार भेट्दा, उनले आयोजकको मनोविज्ञान र पीडितहरुको अपेक्षाको अनुमान लगाएर आधारहीन र हावादारी गफ दिने गरेका छन् ।
विकट भूगोल र विकासका हरेक सूचकांकमा सबैभन्दा पछाडी रहेको कर्णालीका जनतालाई आधारभूत आवश्यकता पुरा गर्नेसम्मको ठोस योजना नबनाएका मुख्यमन्त्री शाहीले यतिसम्म गफ दिन भ्याँइसके की ‘कर्णाली प्रदेशलाई विश्वकै नमूना बनाउँछौं’ ।
मंगलबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्न पुगेका शाहीले कर्णालीलाई विश्वकै नमूना बनाएर छोड्ने ठोकुवा गरे । त्यसको अघिल्लो दिन सोमबार अग्निपीडितलाई राहत वितरण गर्न कालिकोटको खाँडा गएका उनले आगलागीबाट नस्ट खाँडा गाउँलाई प्रदेश सरकारले नमूना बस्ती बनाउने घोषणासमेत गरिदिए ।
यी उनका प्रतिनिधिमुलक भनाइ हुन् । र, यो उनको व्यक्तिगत विचार मात्रै पनि होइन । सिंगो सरकारको प्रतिनिधित्व गर्ने मुख्यमन्त्रीले चर्चामा रहन औपचारीक कार्यक्रममै अस्वभाविक अभिव्यक्ति दिइरहनुले सरकारको विश्वाससमेत टुट्दै गएको छ ।
उनी मात्रै होइन यस्ता हावादारी गफ दिनमा उनको मन्त्रीमण्डल नै माहिर छ । प्रदेश सरकारका केही मन्त्रीहरु त यतिसम्मका छन् की जसलाई आफुले के बोलिरहेको छु भन्नेसम्मको पत्तो पनि हुँदैन । सानातिना गर्न सकिने काममा भन्दा महत्वाकांक्षी योजना सुनाएर ताली खाने र सपना देखाउँनमै मन्त्रीहरुको ध्यान केन्द्रित छ ।
अभिव्यक्तिमा शुरुदेखि नै लगाम नलगाउने स्वभावका कारण मुख्यमन्त्री शाही पटक–पटक विवादितसमेत बन्दै आएका छन् । मुख्यमन्त्री र मन्त्रीहरु पदीय मर्यादाको ख्याल नगरी अन्टसन्ट बोल्न थालेपछि उनीहरु आलोचनाका पात्र बन्ने गरेका हुन् । आफ्ना हरेक गतिविधिलाई जनताले निगरानी गरिरहेका हुन्छन् भन्ने कुराको हेक्का न मुख्यमन्त्री नत अन्य मन्त्रीहरुले नै राखेको देखिन्छ । यसले मन्त्रीहरुको विश्वासनीयतामाथि नै प्रश्न उठाइदिएको छ । त्यतिमात्रै होइन, उनीहरुलाई बोलीको लगाम लगाउने कुनै निकाय नै छैन जस्तो भान परेको छ । सरकारको खबरदारी गर्ने मिडियालाई समेत उनीहरुले आफ्नो गुनगान गाउने भजनमण्डलीका रुपमा बुझ्न थालेका छन् । सञ्चारमाध्यमले सरकारका आलोचनात्मक समाग्री प्रकाशन/प्रशारण गर्दा मन्त्रीहरुले मिडियासँग असन्तुष्टि पोख्नुले पनि यो कुराको पुष्टि गर्छ ।
सरकार ठूला सपना बाड्नमै सिमित हुँदा आम नागरिकले राहत अनुुभव गर्नेगरि परिवर्तन हुन सकेको छैन । कर्णालीको विकास र समृद्धि कसरी ? विकासका प्राथमिकता के ? समृद्धिका लागि लगानीका स्रोत के हुन र कसरी परिचालित हुन्छन् ? राजस्वको स्रोत के ? खासगरी सरकारको अभिव्यक्तिमा विश्वास गर्ने आधारहरु के ? जनताले कर्णाली सरकारसँग यी र यस्तै प्रश्नको स्पष्ट जवाफ खोजिरहेका छन् । नकी मन्त्रीहरुका आधारहीन र हावादारी गफ ।
प्रकाशित मितिः December 26, 2018 at 3:58 pm























कर्मसञ्चार । २०७५ पुष ११ गते बुधवार