देशभरि ११ लाख बालश्रमिक

जनसंख्याका आधारमा धेरै बालश्रमिक कर्णालीमा

सुर्खेतः राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन–२०८२ सार्वजनिक भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा देशभरि १० लाख ८१ हजार बालश्रमिक रहेका छन् । जसमध्ये दुई लाख २२ हजार जोखिमयुक्त छन् । प्रदेशगत तथ्यांक हेर्दा सबैभन्दा धेरै बालश्रमिक कोशीमा छन् भने जनसंख्याका आधारमा भने धेरै बालश्रमिक कर्णालीमा सक्रिय रहेको सरकारी अध्ययनले देखाएको छ । संख्यात्मक हिसाबले सबैभन्दा कम बालश्रमिक गण्डकीमा देखिएको छ । जनसंख्याका आधारमा भने सबैभन्दा कम प्रतिशत बागमतीमा छ ।
श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेका अनुसार यो तथ्यांक नेपाल श्रमशक्ति सर्वेक्षण सन् २०१७/१८ का आधारमा निकालिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले हरेक १०/१० वर्ष अन्तरमा यस्तो सर्वेक्षण निकाल्ने गर्दछ । नयाँ सर्वेक्षण सार्वजनिक नभएसम्म पुरानै सर्वेक्षणलाई आधिकारिक मानेर प्रतिवेदन सार्वजनिक गरिएको उनी बताउँछन् ।
प्रतिवेदनअनुसार बालश्रमिकको प्रयोग सबैभन्दा धेरै कृषिमा रहेको पाइएको छ । कृषि क्षेत्रमा ८७ प्रतिशत बालबालिकाले श्रम गरिरहेको समेत सरकारको तथ्यांकले देखाएको छ । कुल बालबालिकाको संख्याका आधारमा १५.३ प्रतिशत बालश्रमिक रहेको देखिएको छ । सहरको तुलनामा ग्रामीण भेगमा बालश्रम बढी रहेको प्रतिवेदनमा उल्लेख छ । तर, बालश्रमिक घट्दो क्रममा भने रहेको देखिन्छ ।
बालश्रम निवारणमा १० स्थानीय तहले आफूलाई बालश्रममुक्त घोषणा गरेका छन् । सरकारको तथ्यांक अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका, म्याग्दीको रघुगंगा गाउँपालिका, रोल्पा त्रिवेणी गाउँपालिका, कपिलवस्तु बाणगंगा नगरपालिका, इलाम सूर्योदय नगरपालिका र तनहुँ म्याग्दे गाउँपालिका रहेका छन् । यसैगरी, भोजपुरको पौवादुङ्मा गाउँपालिका, बागलुङ बरेङ गाउँपालिका, स्याङ्जा बिरुवा गाउँपालिका, काभ्रे पनौती नगरपालिकाले बालश्रममुक्त घोषणा गरेका हुन् । प्रतिवेदन अनुसार बालश्रम निवारणमा सरकारले ससर्त अनुदान नै पठाउने गरेको छ ।

प्रकाशित मितिः   July 16, 2025 at 11:33 am 


  • प्रतिक्रिया दिनुहोस्