
सुर्खेत, ९ पुस ।
आगलागी पीडितको लागि राहत तथा खाद्यान्न सामग्री लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट पुगेका छन् । राष्ट्रियसभा सदस्य जीवन बुढा, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र प्रदेशसभा सदस्य कुर्मराज शाहीसहित मुख्यमन्त्री शाही राहत सामग्री लिएर पलाँता गाउँपालिका–१ स्थित न्यौपानेवाडा पुगेका हुन् ।
मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्रसमेत रहेको पलाँतामा आइतबार राती करिब १० बजेदेखि स्थानीय नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले न्यौपानेहरूको उद्गमस्थल भनेर चिनिने खाडाका ८७ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । आगलागीबाट ७ जना घाइते भएका छन् ।
मुख्यमन्त्री शाहीको टोली प्रदेश सरकारको तर्फबाट तात्कालिक राहत स्वरुप प्रतिपरिवार नगद २० हजार रुपैयाँ, कम्बल १ सय थान, फोम ५ बन्डल, सिरक डसना १ सय थान, चाउचाउ १५ पेटी, बिस्कुट ६ पेटी, चिउरा ३ बोरा, फुरनदाना २३ किलो र गृह मन्त्रालयको तर्फबाट त्रिपाल ६० थान, जुत्ता १ सय थान, ज्याकेट १ सय थान, ट्राउजर १ सय थान र कम्बल २ सय थान लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत् अग्निपीडित क्षेत्र पुगेको हो ।

केन्द्र सरकारको तर्फबाट सदरमुकाम मान्माबाट ३ हजार किलो चामलसहित दाल, नून, तेल लगायतको खाद्यान्न सामग्री अग्निपिडितलाई उपलब्ध गराउने कार्यक्रम रहेको छ ।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खाडामा भएको आगलागीले ठूलो क्षति भएको बताए । क्षतिको एकीन विवरण मंगलबारसम्म मात्र आउने भएपनि करिब ३ करोड भन्दा बढी क्षति भएको अनुमान गरिएको छ । खाडाको गाँउमा २०६२ सालमा पनि आगलागी हुँदा ३२ घर जलेर नष्ट भएका थिए ।
प्रकाशित मितिः December 24, 2018 at 5:22 pm























कर्मसञ्चार । २०७५ पुष ९ गते सोमवार