अवरोधकाबीच अघि बढ्यो संसद्

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले सत्ता पक्षलाई साथ दिएपछि सभामुख देवराज घिमिरले रास्वपा र राप्रपाको अवरोधकाबीच सदनको कामकारबाही अघि बढाएका हुन्। बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे धारणा राखेका छन् । गृहमन्त्री लेखकले रोष्ट्रममा पुगेर धारणा राखिरहँदा रास्वपा सांसदहरूले वेल घेराउ गर्दै उनको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन् ।
रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख  घिमिरेले संसद्को कार्यसूची अघि बढाएका थिए । सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । पाण्डेले बोल्दैगर्दा रास्वपा र राप्रपाका नेताहरूले टेबुल ठोकेर विरोध गरे । यद्यपि पाण्डेले आफ्ना कुरा राखिरहे । लगत्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समय दिइयो । लिङ्देन बोल्दा भने रास्वपाले अवरोध गरेन । भिजिट भिसा प्रकरणमा सत्ता पक्ष र माओवादीबीच सहमति भएपनि रास्वपा र राप्रपाको अवरोध जारी छ ।

प्रकाशित मितिः   June 13, 2025 at 6:01 pm 


  • प्रतिक्रिया दिनुहोस्