
सुर्खेतः कर्णाली प्रदेश सरकारले रणनीतिक महत्वका सडकको स्तरोन्नतिलाई प्राथमिकता दिएको छ । सरकारले रणनीतिक र पर्यटकीय महत्वका दुईवटा सडक स्तरोन्नतिको काम अघि बढाएको हो । आइतवार मुलपानी–फलाटे–रानीघाट सडकको स्तरोन्नति कार्य शुभारम्भ गरिएको छ भने सोमवार छेडा–गढी–श्रीचौर–कल्याणकाँध सडकको स्तरोन्नति तथा कालोपत्रे सुरु भएको छ ।
कर्णाली प्रदेश राजधानीलाई तराईसँग जोड्ने छोटो दूरीको मुलपानी–फलाटे–रानीघाट भुरीगाउँ अन्तरप्रदेश सडक हो । अहिले यो सडकअन्तर्गतको सुरुवाती बिन्दु फलाटे–रानीघाटखण्डको सात किलोमिटर सडकको स्तरोन्नति थालिएको छ । कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आइतवार उक्त सडकको पहिलोखण्ड स्तरोन्नतिको काम शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री कँडेलले पहिलोखण्ड स्तरोन्नति थालिएसँगै दोस्रोखण्डको जग्गा भोगाधिकार, रुख कटान र रानीघाटको पुल निर्माणलगायतका काममा दबाब पुग्ने जनाए । कर्णालीका नागरिकले वर्षाैंदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा टेवा पुग्ने उनी बताउँछन् । ‘तेलपानी–भुरीगाउँ सडक कर्णालीले हाट जाँदा प्रयोग गर्ने बाटो हो,’ उनी भन्छन्, ‘यसको स्तरोन्नति हुनासाथ बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई छिनभरमै कर्णालीमा ल्याउन सकिन्छ ।’ यो सडकलाई पूर्णता दिएर चितवनको देवघाटपछि सुर्खेतको रानीघाटलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अघि बढेको उनको भनाइ छ ।
यो खण्डको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणको काम सुरु गरिएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले ३२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी स्तरोन्नतिको कामका लागि ठेक्का आह्वान गरेको थियो । १८ करोड ५२ लाख २३ हजार आठ सय ५१ रुपैयाँ लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता भएको छ । २०८३ पुस ३० मा सम्पन्न गर्ने कार्यदेशसहित स्तरोन्नतिको काम सुरु भएको छ । मुलपानीदेखि रानीघाट सडकको दूरी कूल १० किलोमिटर छ । जसमध्ये तीन किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ ।
यस्तै, प्रादेशिक सडक गुरुयोजनामा समावेश भएको छेडा–गढी–श्रीचौर–कल्याणकाँध जोड्ने सडकको पनि स्तरोन्नति सुरु भएको छ । वीरेन्द्रनगर–१४, स्थित गोठिकाँबाट सुरु भइ बराहताल गाउँपालिकाको कल्याणकाँधसम्म पुग्ने यो सडकको पनि सात किलो मिटर कालोपत्रे गर्ने कार्य प्रारम्भ भएको हो । सात करोड ९८ लाख लागतमा पूर्वाधार विकास निर्देशनालय र निर्माण व्यवसायी बिआई एस कन्सट्रक्सनबीच निर्माण सम्झौता भइ स्तरोन्तीको काम अघि बढेको छ । सोमवार स्तरोन्नति कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले यो सडक स्तरोन्नति तथा कालोपत्रे हुँदा पर्यटकीय सम्भावना बोकेको गोठीकाँडा क्षेत्रको विकाससँगै बराहताल गाँउपालिकाकोे माथिल्लो भेगका नागरिकलाई यातायात सेवामा सहज हुने बताए ।
प्रकाशित मितिः May 27, 2025 at 12:49 pm























कर्मसञ्चार । २०८२ जेष्ठ १३ गते मंगलवार