प्रदेशका मन्त्रीलाई पत्रकार महासंघको माग–पत्र

सुर्खेतःआगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारीमा लागेका कर्णाली प्रदेश सरकारका मन्त्रालयहरूमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले माग–पत्र बुझाएको छ । महासंघले आइतबार प्रदेश सरकारका मन्त्रीहरूलाई सञ्चार क्षेत्रसँग सम्बन्धित सवालहरू समेटिएको माग–पत्र बुझाएको हो । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको विकासका लागि समावेश गर्नुपर्ने विषयबारे मन्त्रीहरूलाई सुझावसहितको माग–पत्र बुझाइएको महासंघले जनाएको छ ।
महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले विभिन्न मन्त्रालयहरूमा प्रदेशसमितिसँगै १० वटै जिल्लाका शाखाको संस्थागत सुधार र पत्रकारहरूको क्षमता विकासलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरिएको बताए । महासंघको टोलिले मन्त्रीहरूलाई छुट्टाछुट्टै भेटि प्रदेशको समग्र विकासका सन्दर्भमा पनि सुझावहरू दिएको छ । महासंघले सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढालाई माग–पत्र बुझाएको हो ।
अध्यक्ष शर्माले मन्त्रीहरूसँगको भेटका क्रममा कर्णाली प्रदेश सरकार सञ्चार क्षेत्रप्रति निकै सकारात्मक रहेको पाइएको जनाए । उनका अनुसार चालु आर्थिक वर्षजस्तै आगामी वर्ष पनि प्रदेश सरकारले सञ्चार क्षेत्रमा उल्लेखनीय बजेट विनियोजन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   May 18, 2025 at 7:27 pm 


  • प्रतिक्रिया दिनुहोस्