
सुर्खेतः
कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् । सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदै छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै यही चैत २१ गते राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । उनले बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न मंगलवार साँझ ५ः५० बजेसम्मको समय दिएका छन् ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कर्णालीमा पनि नयाँ सरकार गठन हुन लागेको हो । गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व यसपटक एमालेको भागमा परेको छ ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दछ । नयाँ सत्ता समीकरणमा रहेका नेकपा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ जना प्रदेशसभा सदस्य छन् । यो संख्या सरकार गठनका लागि सहज बहुमत हो । कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४ तथा राप्रपा र स्वतन्त्रका एक/एक जना प्रदेशसभा सदस्य छन् ।
प्रकाशित मितिः April 9, 2024 at 10:55 am


कर्मसञ्चार । २०८० चैत्र २७ गते मंगलवार