
सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिवारदेखि ‘कर्णाली छोरी सम्मेलन’ सुरू भएको छ । सामाजिक विकास मन्त्रालय र श्री ज्योति फाउन्डेसनद्वारा आयोजित सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाका छोरीहरू प्रतिनिधिमूलक रूपमा सहभागी भएका छन् । सम्मेलन शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री यामलाल कडेललाई कर्णालीका छोरीलाई समान अवसर र शिक्षाको प्रत्याभूत गराउने प्रतिबद्धता–पत्र वाचन गर्न लगाइएको थियो । मुख्यमन्त्री कडेलले चेतनाको अभावका कारण कर्णालीमा अझै पनि अन्धविश्वास कायमै रहेको बताए । ‘समाजमा अन्धविश्वास र कुरीति छ,’ उनले भने, ‘त्यो अझै बदलिन सकेको छैन, बदल्नैपर्छ ।’ कर्णालीको अवस्था बदल्न सबैको हातेमालो आवश्यक रहेको उनले जनाए । व्यवहारमा कसैले कसैलाई हिनताबोध नहुने गरी समाज निर्माण गर्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरूङ्गले सोच र शैलीमा सकारात्मक परिवर्तन ल्याउन यस्ता खालका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘लैंगिक समानताको आधार निर्माणमा ध्यान दिनुपर्नेछ,’ उनले भनिन्, ‘छोरीहरूले आत्मरक्षाका लागि हरेक पल सावधान रहनुपर्ने अवस्था अहिले पनि छ ।’ छोरी भएकै कारण अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्नेमा उनले जोड दिइन् । छोरीहरुको शैक्षिक सशक्तीकरणमा जोड दिन सकियो भने मात्रै उनीहरूले समाजमा आफूलाई सुरक्षित अनुभूत गर्नेछन्,’ उनले भनिन् । कर्णालीका छोरीहरूको अधिकार समानता र सशक्तीकरणसँगै शिक्षा तथा स्वास्थ्यका सवालमा सरोकारवालाहरू गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।
कर्णालीमा छोरीलाई सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको श्री ज्योति फाउन्डेसकी अध्यक्ष ज्योति कटुवालले बताइन् । ‘कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने जमर्को हो,’ उनले भनिन्, ‘कर्णालीका छोरीको सशक्तीकरणका लागि यो एक गतिशील अभियान हो ।’
सम्मेलनमा हरेक दिन छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू सञ्चालन हुनेछन् भने छोरीका मनका कुरा शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाइहरू सुनाउनेछन् । यसका साथै सिर्जनशील छोरीहरूलाई प्रतिभा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिने आयोजकले जनाएका छन् । सम्मेलन तीन दिन ‐सोमबार) सम्म चल्नेछ ।
प्रकाशित मितिः May 10, 2025 at 5:27 pm


कर्मसञ्चार । २०८२ वैशाख २७ गते शनिवार