
काठमाडौंः सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच आज पनि वार्ता हुने भएको छ । सरकार र शिक्षकहरुबीच केही दिनदेखि वार्ता र संवाद चलिरहेको छ । २८ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकसँग मंगलबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा सम्भावित सहमतिको खाकामा समझदारी बनेको छ । आजको वार्ता भने निर्णायक हुने बताइएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको हो । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय गरिएको छ । शिक्षक महासंघले वार्तामा सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ ।
मंगलबार रातिको बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र आज (बुधवार) टुंगोमा पुग्ने बताएका थिए ।
‘अग्रगामी शिक्षा ऐन जारी गर्ने कुरा हो । अहिलेसम्म सरकारले विश्वासको आधार बनाएको छैन । सरकारसँगको छलफलमा त आज पनि जान्छौ । ऐन जारी हुने सुनिश्चितता हुनुप¥यो । सरकारले विश्वसिलो आधार बनायो भने त्यही अनुसार प्रस्तुत हुन्छौं । जनाएन भने त्यही अनुसार हुन्छौं’, उनले भनिन् । वार्तालाई निर्णायक नै बनाउने आफूहरुको प्रयत्न रहेको उनले बताइन् । यसअघि मंगलबार राति भएको वार्तामा महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघका नेताहरुले बताउँदै आएका छन् । मंगलबार रातिको बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र आज (बुधवार) टुंगोमा पुग्ने बताएका थिए ।
शिक्षक महासंघको ९ बुँदे प्रस्तावमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयको तलब, प्रधानाध्यापकको विषय, राहत शिक्षक लगायतका विषय समेटिएको छ । यसअघि निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गरेकी थिइन । जसको लागि सरकारको ८ अर्ब खर्च हुने थियो । यही ७ बुँदे र ९ बुँदेको आधारमा आजको वार्ता निर्णायक बनाएर मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी छ ।
प्रकाशित मितिः April 30, 2025 at 12:13 pm













कर्मसञ्चार । २०८२ वैशाख १७ गते बुधवार