
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई प्रविधिमा आत्मनिर्भर बनाउने अभियानमा लाग्न आव्हान गरेका छन् । मंगलवारदेखि वीरेन्द्रनगरमा सुरू भएको डिजिटल कर्णाली कन्क्लेभको दोस्रो संस्करणलाई सम्बोधन गर्दै उनले कर्णालीलाई प्रविधिमा आत्मनिर्भर बनाउने दृष्टिकोणबाट सोच्न आग्रह गरेका हुन् । ‘कन्क्लेभमा सहभागी विज्ञ, सूचना प्रविधिमा कार्यरत जनशक्ति तथा सरोकारवालालाई प्रदेश सरकारको तर्फबाट आव्हान गर्न चाहन्छु,’ उनले भने, ‘प्रदेश सरकारको साधन स्रोतले गर्न सक्ने कर्णाली सुहाँउदो डिजिटल प्रविधिका क्षेत्रहरूमा मिलेर काम गर्न तयार छौँ ।’
मुख्यमन्त्री कँडेलले डिजिटल प्रविधिको विकासलाई केवल सेवाको उपभोगका रूपमा मात्र हेर्न नहुने बताए । ‘डिजिटल प्रविधि स्वरोजगार, उद्यमशीलता र नवप्रवर्तनको माध्यम बन्नुपर्दछ,’ उनले भने, ‘अब यस्तो भावका साथ अभियान थालौँ ।’ डिजिटल कन्क्लेभ जस्ता प्लेटफर्महरूले नवप्रवर्तन, सूचना प्रवाह, प्रविधिको पहुँच र स्थानीय सम्भावनालाई उजागर गर्ने उनले बताए ।
कर्णालीका युवाहरूको प्रतिभा, जाँगर र नयाँ सोचको उपयोग आजको आवश्यकता भएको बताउँदै कन्क्लेभले त्यसतर्फको बाटो पहिल्याउने उनले जनाए । मुख्यमन्त्री कँडेलले भने, ‘कर्णाली प्रदेश सरकारले सूचना प्रविधिलगायतका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्दै डिजिटल कर्णाली अभियानलाई प्राथमिकतामा राखिएको हो ।’ उनले अबको प्राथमिकता डिजिटल पूर्वाधार विस्तार, इन्टरनेट पहुँच, सूचनाको हकको प्रवद्र्धन, डिजिटल शिक्षा प्रणाली र ई–गभर्नेन्समार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने रहेको बताए ।
कर्णालीका विद्यालयहरूलाई नमुनाको रूपमा विकास गर्दै डिजिटल शिक्षाका कार्यक्रम सुरू हुने क्रममा रहेको जानकारी गराउँदै उनले कृषि, पर्यटन, स्वास्थ्य र पूर्वाधारजस्ता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग तथा विस्तारमा सम्भावनाहरूको खोजी भइरहेको दावी गरे । उनले आज थालिएका अभियान र लिएका पहल भोलिको समृद्ध, सक्षम र प्रविधियुक्त कर्णाली निर्माणमा कोशेढुङ्गा सावित हुने बताए ।
मुख्यमन्त्री कँडेलले डिजिटल कर्णाली कन्क्लेभमार्फत नीति निर्माणकर्ता, प्राविधिक, विज्ञ, उद्यमीहरू र युवा आवाजबीच विचार विमर्श हुनुका साथै यिनै विचारहरूले डिजिटल कर्णालीको दिशा तय गर्ने अपेक्षा व्यक्त गरे । डिजिटल पूर्वाधार, डिजिटल शिक्षा र डिजिटल पहुँच बिनाको समावेशी विकास सम्भव नहुने उनको भनाइ थियो ।
डिजिटल कर्णाली कन्क्लेभको दोस्रो संस्करण दुई दिनसम्म सञ्चालन हुनेछ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र आइसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा भइरहेको कन्क्लेभले नीतिगत सुधार गर्न, सार्वजनिक सेवा प्रवाहलाई रूपान्तरण गर्न र प्रविधिको प्रयोगमार्फत कर्णालीबासीको जीवनशैलीमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कन्क्लेभमा प्रदेश र राष्ट्रिय स्तरबाट ५० भन्दा बढी आईटी क्षेत्रका विज्ञ वक्ताहरू सहभागी हुनेछन् ।
‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एन्ड सस्टेनवलिटी’ विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न तीन वटा की नोटको प्रस्तुतिका साथै आठ वटा लाइटिनिङ प्रस्तुति र सात वटा थिममा १० वटा प्यानल संवाद हुनेछन् । यस्तै, कन्क्लेभमा कर्णालीका लागि विकास गरिएका १० बढी डिजिटल सोलुसन र आइडियाहरूको शोकस र प्रस्तुतिसमेत रहनेछन् । डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, डिजिटल नेतृत्व र नीति, जनशक्ति, कृषि, पर्यटन, डिजिटल हेल्थ, स्टार्टअप, उद्यमशीलता लगायतका विषयमा वृहत बहस तथा छलफल हुनेछ ।
प्रकाशित मितिः April 22, 2025 at 10:56 pm























कर्मसञ्चार । २०८२ वैशाख ९ गते मंगलवार