
सुर्खेतः
डिजिटल कर्णाली कन्क्लेभको दोस्रो संस्करण सुरू भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यतामा मंगलवार कन्क्लेभको शुभारम्भ गरिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र आइसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको कन्क्लेभ दुई दिनसम्म चल्नेछ । डिजिटल कर्णाली कन्क्लेभले नीतिगत सुधार गर्न, सार्वजनिक सेवा प्रवाहलाई रूपान्तरण गर्न र प्रविधिको प्रयोगमार्फत कर्णालीबासीको जीवनशैलीमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको मन्त्रालयका सचिव पुष्पराज शाहीले बताए । उनकाअनुसार कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीलगायतका विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भइरहेको उक्त कन्क्लेभमा प्रदेश र राष्ट्रिय स्तरबाट ५० भन्दा बढी आईटी क्षेत्रका विज्ञ वक्ताहरू सहभागी हुनेछन् ।
‘इम्पावारिङ द फ्युचर : इन्नोभेसन, कनेक्टिभिटी एन्ड सस्टेनवलिटी’ विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न तीन वटा की नोटको प्रस्तुतिका साथै आठ वटा लाइटिनिङ प्रस्तुति र सात वटा थिममा १० वटा प्यानल संवाद हुनेछन् । यस्तै, कन्क्लेभमा कर्णालीका लागि विकास गरिएका १० बढी डिजिटल सोलुसन र आइडियाहरूको शोकस र प्रस्तुतिसमेत रहनेछन् । यसैगरी, डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, डिजिटल नेतृत्व र नीति, जनशक्ति, कृषि, पर्यटन, डिजिटल हेल्थ, स्टार्टअप, उद्यमशीलता लगायतका विषयमा वृहत बहस तथा छलफल हुनेछ । कन्क्लेभको दोस्रो संस्करण शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री, मन्त्रीहरू, प्रतिनिधिसभाका सदस्यहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी र विज्ञ एवम् सरोकारवालाहरूको सहभागिता रहेको छ ।
प्रकाशित मितिः April 22, 2025 at 12:00 pm























कर्मसञ्चार । २०८२ वैशाख ९ गते मंगलवार