पत्रकार महासंघद्वारा कोतगढी घोषणा–पत्र जारी

दैलेखः

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको तेस्रो अधिवेशन दैलेखको ऐतिहासिक स्थल कोतगढीमा सम्पन्न भएको छ । शनिवार भएकोे अधिवेशनले १९ बुँद्दे घोषणा–पत्र जारी गरेको छ ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले १५ वैशाख २०८१ मा दैलेखको नारायण नगरपालिका–१ को कोतगढीमा आयोजित तेस्रो प्रदेश अधिवेशनले जारी गरेको कोतगढी घोषणा–पत्र,२०८१

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश तेस्रो अधिवेशनका सन्दर्भमा दैलेख जिल्लाको ऐतिहासिक कोतगढीबाट यो कोतगढी घोषणा–पत्र २०८१ जारी गर्दछ ।
१. प्रेस स्वतन्त्रता प्रजातान्त्रिक मुलुकको सबैभन्दा आधारभूत स्वतन्त्रता हो । जहाँ प्रेस बलियो र स्वतन्त्र हुन्छ त्यहाँ नागरिक सचेत, जागरुक र बलिया हुनुका साथै राज्य बलियो भई चौतर्फी विकास र समृद्धि सम्भव हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अहिले पनि प्रेसको भूमिका र अधिकारका बारेमा जिम्मेवार निकायबाट सकरात्मक बुझाइ हुन नसकेकै कारण ठूलो चुनौतीका बीच नपाली पत्रकारिता अघि बढिरहेको छ । फलतः प्रेसको अधिकारलाई कानूनी, नीतिगत र व्यवहारिक रुपमा सुरक्षित गरी प्रेसको व्यापक भूमिका सुनिश्चित गराउन तीनै तहका सरकारसँग यो अधिवेशन जोडदार माग गर्दछ ।
२. नेपालको संविधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेपनि त्यसको पूर्ण रुपमा प्रयोग गर्न नेपाली प्रेस र आम नागरिकले अहिले पनि पाएका छैनन । आजपनि समाचार लेखेकै कारण पत्रकारहरुमाथि राज्य र गैरराज्य पक्षबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धम्की दिने, आक्रमण हुने प्रयास भइरहेका छन् । जसको कारण नागरिकले संविधानप्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न पाएका छैनन । संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र स्वतन्त्र रुपमा उपभोग गर्न पाउने वातावरण सृजना गर्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सरोकारवाला सबैसँग हार्दिक अपिल गर्दछ ।
३. नेपालका नागरिक समाजको अग्रणी संस्था श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिद्धारा आयोजित यो अधिवेशन संघीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकारमार्फत बनिरहेका सञ्चार सम्बन्धि ऐन, नियम र कानूनहरुमा गरिएका विभिन्न नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्ने प्रावधानहरुप्रति सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ । कुनैपनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हुने सबैखाले हस्तक्षेपको बिरोध गर्दै प्रस्तावित विधेयक र कानूनहरुमा उल्लेख गरिएका प्रेस तथा नागरिकका स्वतन्त्रतालाई संकुचन पार्ने प्रावधानहरुलाई सच्याउन यो अधिवेशन सम्बद्ध पक्षहरुसँग अनुरोध गर्दछ ।
४. श्रमजीवी पत्रकार ऐन जारी भएको तिन दशक बढिको समय बितिसक्दा पनि यसको कार्यान्वयन सन्तोषजनक छैन् । ऐन कार्यान्वयनको अवस्था कर्णाली प्रदेशमा अँझ भयावह छ । अहिले पनि मिडियामा न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र र अन्य सुविधा बिनै झण्डै ९० प्रतिशतभन्दा बढी कर्णालीका श्रमजीवि पत्रकारहरुले काम गरिरहनु परेको अवस्था छ । यो अधिवेशन श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको जोडदार माग गर्दछ ।
५. समग्र पत्रकारिताको विकास गर्न कर्णाली प्रदेशमा अनुदानमूखी पत्रकारिताको अवधारणा अनुसार राज्यले प्रदेशमा स्थापित सञ्चार माध्यम र सञ्चारकर्मीको पेशागत दक्षता वृद्धि, उत्थान, विकास तथा संरक्षण सहित व्यवसायिक पत्रकारहरुका लागि आवश्यक सञ्चार उपकरण (क्यामरा, ल्यापटप, कम्प्युटर, ट्रान्समिटर, मिक्स्चर, रेकर्डर आदी) खरिदमा ७० प्रतिशत तथा कागज र सवारी साधन खरिदमा लाग्ने भन्सार छुट गर्दै स्थानीय रेडियो, पत्रपत्रिका र अनलाइनलाई विज्ञापन वोर्ड, प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रदान गरिदैं आएको लोक कल्याणकारी विज्ञापनलाई शतप्रतिशत बृद्धि गरी सूचना विभागबाट प्रदान गरिने प्रेस पास, पत्रपत्रिका दर्ता, नवीकरण तथा स्थानान्तरण, रेडियो लाइसेन्स नवीकरण, रोयल्टी बुझाउने कार्य सम्बन्धित स्थानीय तहबाटै सहजरुपमा उपलब्ध गराउने व्यवस्थाका लागि यो अधिवेशन सरोकारवाला निकाय समक्ष माग गर्दछ ।
६. २०८० साल कार्तिक १७ गते जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु भएर गएको विनासकारी भुकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान लगायतका जिल्लामा भएको जनधनको क्षतीप्रति यो अधिवेशन गहिरो दुःख व्यक्त गर्दछ । भुकम्पका कारण यस क्षेत्रका सञ्चार माध्यम र सञ्चारकर्मीहरु संकटकालिन अवस्थाबाट गुज्रिरहनु परेको अवस्थालाई मध्यनजर गर्दै भुकम्प प्रभावित क्षेत्रका पत्रकार र सञ्चार माध्यमलाई आवश्यक राहतका कार्यक्रम कार्यान्वयनका लागि यो अधिवेशन कर्णाली प्रदेश सरकार र नेपाल सरकार समक्षा आग्रह गर्दछ ।
७. सरकारी तथा निजीस्तरकाट सञ्चालित मूलधारका सञ्चार गृहमा कर्णालीबाट काम गर्ने सञ्चारकर्मीले पाउने गरेकोे पारिश्रमिक अत्यन्तै कम छ । औपचारिकतामा मात्रै समावेश गर्ने स्ट्रिन्जरले कर्णाली क्षेत्रको पत्रकारिताको व्यवसायिक विकास हुन सक्दैन । तसर्थ विद्यमान स्ट्रिन्जरको सट्टा पूर्णकालीन रिर्पोटरको रुपमा नियुत्त गरी, उनिहरुको स्थायित्व तथा प्राप्त गर्ने पारिश्रमिक वृद्धिको नीतिगत व्यवस्थाका लागि यो अधिवेशन माग गर्दछ । साथै प्रेस काउन्सिल नेपालले वितरण गर्ने पुरस्कार सम्मान, फेलोसिप कर्णालीमा काम गर्ने पत्रकारलाई अनिवार्य रुपमा समेट्दैं हालको फेलोसिपमा कर्णालीलाई कार्यक्षेत्र बनाएर काम गर्ने पत्रकारलाई अन्यत्र भन्दा ५० प्रतिशत वृद्धि गर्न यो यो अधिवेशन काउन्सील समक्ष माग गर्दछ ।

८. भौगोलिक कठिनाई र यातायातको सहज पहुँचको अभावका कारण कर्णालीमा रिपोर्टिङ गर्न आर्थिक र भौतिक सुरक्षा लगायतका चुनौतीका चाङ छन् । तर, मूलधारका (सरकारी र निजी क्षेत्रबाट सञ्चालित) सञ्चार माध्यमले सुगममा गरिने रिपोर्टिङकै सरह प्रति समाचार÷रिर्पोट÷सामग्री वापतको पारिश्रमिक प्रदान गर्ने गरेका छन् । यो अधिवेशन कर्णालीको वास्तविकतालाई अध्ययन गरी प्रति समाचार वापत दिइने रकम अन्य क्षेत्रभन्दा कर्णालीमा कम्तीमा ५० प्रतिशत बढी दिन र ३ वर्षभन्दा बढी समय निरन्तर एउटै मिडियामा काम गर्ने पत्रकारलाई स्थायी गर्न माग गर्दछ ।
९. पछिल्लो समय मोफसलका मिडियामा राज्य तथा गैर राज्य पक्षबाट ठूलो व्यवसायिक लगानी हुन सकिरहेको छैन । अधिकांश सञ्चार माध्यमहरु श्रमजीवि पत्रकार आफैले स्वरोजगारका रुपमा सञ्चालन गर्ने गरेका छन् । जसले गर्दा टिकाउन निकै कठिन छ । मिडिया बलियो हुन सके मात्र सचेत, सुसूचित, जागरुक जनता हुने र सेवाग्राहीप्रति जवाफदेही, जिम्मेवार र पारदर्शी सार्वजनिक निकाय हुन सम्भव छ । त्यसैले कर्णालीमा व्यवसायिक मिडियाको विकासका लागि गहिरो अध्ययन, अनुसन्धान गरी यहाँका मिडिया र मिडियाकर्मीलाई विशेष सहुलियत र अनुदानको व्यवस्था गर्न महासंघ कर्णाली प्रदेश सरकार, नेपाल सरकार, प्रेस काउन्सील नेपाल तथा अन्य सरोकारवाला निकायलाई आग्रह गर्दछ ।
१०. थुप्रै कठिनाईहरुसँग जुधेर कर्णालीका नागरिकलाई सुसूचित गर्ने कर्णालीका पत्रपत्रिका, एफएम रेडियो, अनलाइन, टेलिभिजन लगायतका सञ्चारमाध्यमहरु संचालन र दिगोपनको लागि कर्णालीका मिडियालाई विद्युत, इन्टरनेट, टेलिफोनको महशुलमा विशेष छुट दिने व्यवस्थाका लागि कर्णाली प्रदेश सरकार, नेपाल सरकारलाई आग्रह गर्दै स्थानीय तह आफैले रेडियो संचालन गरी अन्य संचार माध्यमलाई दिने सेवा सुविधा कटौती गर्ने पवृत्तिको बढोत्तरी हुदैं गएकाले त्यस कार्यलाई निरुत्साहित गर्दै हाल भएका व्यक्तिगत तथा समुदायबाट सञ्चालन गरिएको एफएम रेडियो तथा अन्य संचार माध्यामलाई सहयोग गर्ने नीतिगत व्यवस्थाका लागि यो अधिवेशन जोडदार माग गर्दछ ।
११. कर्णालीका सार्वजनिक निकायबाट मात्र प्रतिवर्ष २० करोडभन्दा बढी रकमको विज्ञापन राजधानीबाट सञ्चालित ‘मूलधारका मिडिया’मा जाने गरेको छ । तर, ती मूलधारका मिडियामा कर्णालीका खबरले मुस्किलले स्थान पाउने गरेका छन । यस्तो अवस्थाको अन्त्य गर्न कर्णालीका सवाललाई प्राथमिकता दिदैं आप्mनै भूगोलबाट सञ्चालन भैरहेका मिडियामा विज्ञापन दिनैपर्ने कानूनी व्यवस्था गर्न महासंघ तिनै तहका सरकारको ध्यानाकर्षण गराउँदछ ।
१२. कर्णालीका पत्रकारहरु ठूलो प्राकृतिक तथा अन्य जोखिम मोलेर काम गरिरहेका छन् । रिपोर्टिङकै क्रममा तथा कार्यक्षेत्रमा खटिरहेका बेला नै थुप्रै पत्रकारहरुले ज्यान गुमाउनु परेको छ । सञ्चारका साधनको पनि क्षति हुने गरेको छ । पत्रकारिता पेशाको विशिष्टतालाई ध्यान दिएर कर्णाली लगायत दुर्गमका पत्रकारको स्वास्थ्य र दुर्घटना विमाको व्यवस्था गर्दै द्वन्द्व पीडित पत्रकारहरुको पहिचान स्थापित गरी उनीहरुका परिवारहरुको हेरचाहमा ध्यान दिन, अपांगता भएका र ज्येष्ठ पत्रकारहरुको विशेष सुविधाका लागि सबै निकायलाई यो साधारण सभा माग गर्दछ । साथै कर्णाली प्रदेशमा काम गर्ने पत्रकारहरुको हवाई र यातायात भाडामा ५० प्रतिशत छुट दिने ब्यवस्था गर्न सरकारसँग माग गर्दछौ ।
१३. नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिसहित जिल्ला शाखाहरुको भवन निर्माण, आवश्यक स्रोत साधनहरुसहितको व्यवस्थित स्रोत केन्द्र स्थापना गर्न र कर्णाली प्रदेशमा क्रियाशील पत्रकारका पेशगात संघ÷संगठनहरुको संस्थागत विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न कर्णाली प्रदेश सरकारसँग यो अधिवेशन माग गर्दछ ।
१४. पत्रकारितालाई जिम्मेवार र बलियो बनाउन पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न जरुरी छ । उत्तरदायी, जिम्मेवार र सक्षम पत्रकार उत्पादनका लागि पत्रकारकै नेतृतव्मा कर्णाली प्रदेश आमसञ्चार प्रतिष्ठान गठन गर्न र सोहि मार्फत पत्रकारहरुलाई तालिम, फेलोसिपको व्यवस्था गर्न, निरन्तर लामो समयदेखि पत्रकारितामा लागेका पत्रकारहरुको ज्ञान, सिप र अनुभवलाई बौद्धिक प्रमाणिकरणको योजना विकास गर्न कर्णाली प्रदेश सरकारसँग महासंघ जोडदार माग गर्दछ ।
१५. कर्णालीमा महिला पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा आर्कषित गर्न, यस पेशामा टिकाई राख्न र उनीहरुको क्षमता विकास, सुरक्षा तथा संरक्षणलाई ध्यान दिन सम्वन्धित संचारमाध्याम, संचार गृह, विभिन्न दातृ निकाय तथा राज्यको तर्फबाट छोरी–बुहारी पत्रकारिता कार्यक्रम सञ्चालनका लागि यो अधिवेशन प्रोत्साहन गर्दछ ।
१६. नेपाल पत्रकार महासंघ व्यवसायिक पत्रकारहरुको छाता संगठन हो । तर पछिल्लो समय महासंघको सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्ने सन्दर्भमा अनावश्यक किचलो जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्मै भैरहेको देखिन्छ । यसले महासंघलाई पत्रकारहरुका पेशागत हकहित र सुरक्षा प्रदान गर्ने कार्यसूचि भन्दा सदस्यता लगायतका नितान्त आन्तरिक काममा अलमल्याएको ठहर यो अधिवेशनले गरेको छ । नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अहोरात्र काम गर्ने श्रमजीवि पत्रकारहरुको छाता संस्थालाई सदस्यता जस्तो विषयमा नअल्झाई अन्य काममा सरिक गराउनका लागि नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौ संशोधन २०७५) को परिच्छेद २ को दफा ४ को योग्यता पुगेर आएका निवेदकलाई जिल्ला शाखाको सिफारिसमा विधानको दफा ५ को उपदफा १ बमोजिम गर्न यो अधिवेशन महासंघ केन्द्रीय कार्य समितिलाई अनुरोध गर्दछ ।
१७. कर्णालीका प्रमुखपर्यटकीय गन्तब्य दैलेख पन्चकोशी क्षेत्र (श्रीस्थान, नागस्थिान, कोटिला, भैरबी, तल्लो डुङेश्वर, दैलेख सदरमुकामका कोतगढी, पञ्चदेवल, महाँबु, वेलासपुर मन्दिर, नेपाली भाषाको पहिलो शिला स्तम्भ) दुल्लु क्षेत्रका पर्यटकीय स्थल, मुगुको राराताल, हुम्लाको दोमुख, खार्पुनाथ, लिमी उपत्यका, डोल्पाको सेफोक्सण्डो, जुम्लाको ऐतिहासिक सिञ्जा क्षेत्र, कालिकोटको पाचलझरना, युद्धपर्यटकीय क्षेत्र पिली, जाजरकोटको जाजरकोट दरबारको पुनःनिर्माण, पश्चिम रुकुम पश्चिमको स्याप्रुताल, डिग्रे भगवती मन्दीर, सल्यानको कुपिण्डे दह, खैरावाङ भगवती मन्दिर, सुर्खेतको काँक्रेबिहार, बुलबुले क्षेत्रको व्यवस्थित विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षकको केन्द्रका रुपमा विकास गर्न आवश्यक बजेट बिनियोजनका लागि महासंघ कर्णाली प्रदेश सरकार, नेपाल सरकारसँग हार्दिक अपिल गर्दछ ।
१८. कर्णाली प्रदेशमा सञ्चालित गौरबका आयोजना दैलेखको भैरबी गाउँपालिका १ जलजलेको पेट्रोलियम अन्वेषण परियोजना, माथिल्लो कर्णाली जलविद्युत आयोजना, नलगाड जलविद्युत आयोजना, रारा लुम्बीनी सडक आयोजना, मध्यपहाडि लोकमार्ग, कर्णाली र भेरी करिरोड, भेरी बबई डाईभर्सन, कालिकोटको फुकोट कर्णाली जलविद्युत आयोजना लगायतका प्रदेशको समृद्धी ल्याउने आयोजनाका रुपमा शुरु भएका गौरवका आयोजनाहरुको कामलाई सममयै सम्पन्न गर्न यो अधिवेशन सरकार र दातृ निकाय समक्ष आग्रह गर्दछ ।

१९. ‘राष्ट्रिय समृद्धिका लागि सञ्चार ः गुणात्मक, व्यवसायिक र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ दैलेखको कोतगढीमा आयोजित नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको तेस्रो अधिवेशनमा आउनु भएका प्रतिनिधि सभा सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति मा. अम्मर बहादुर थापा, प्रतिनिधि सभा सदस्य मा. सिता राना, कर्णाली प्रदेश सभा सदस्य मा. सदस्य घनश्याम भण्डारी, मा. कृष्ण कुमार वि.सी., मा. बिजय बोहरा, मा. पूर्णबहादुर खत्री, दैलेखस्थित सबै राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, दैलेखका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि दीपेन्द्र शर्मा, केन्द्रीय सदस्य नविन रिजाल, पूर्व केन्द्रीय सदस्य नवराज महताराप्रति अधिवेशन हार्दिक आभार व्यक्त गर्दछ । अधिवेशनलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नारायण नगरपालिका सहित दैलेखका सबै स्थानीय तह, जिल्ला समन्वय समिति दैलेख, दैलेख जिल्लाका सम्पूर्ण सरकारी तथा गैर सरकारी निकाय, आतिथ्यता प्रदान गर्ने नेपाल पत्रकार महासंघ दैलेख शाखा तथा सम्पूर्ण सञ्चारगृह र सञ्चारकर्मी, कर्णालीका १० वटै जिल्ला शाखाका अध्यक्षसहित प्रदेश पार्षदसहरुलगायत दैलेख जिल्लावासीलाई आभारसहित विशेष धन्यवाद ज्ञापन गर्दछ ।

प्रकाशित मितिः   April 28, 2024 at 11:33 am 


प्रतिक्रिया दिनुहोस्