काठमाडौं, १८ साउन । आज नियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् भने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीमा बढुवा भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा र अर्याललाई भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीको शपथ गराएकी हुन् । बंगलादेशमा एमबिबिएस पढ्न गएका महिलाहरूको विषयमा दिएको अभिव्यक्ति विवादमा परेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त रहेको पदमा ढकाललाई नियुक्त गरिएको हो ।
मोरङ ३ बाट निर्वा्चित नेकपा सांसद ढकाल विद्यार्थी राजनीतिबाट आएका हुन् । उनी कानुनका विद्यार्थी समेत हुन् । वि.सं. २०१८ मा तेह्रथुमको ओख्रेमा जन्मिएका ढकाल दोस्रो संविधानसभा निर्वाचन, २०७० मा समानुपातिकतर्फबाट सभासद भएका थिए । संसदमा एमालेका प्रमुख सचेतकसमेत भएका नेता ढकाल एमालेमा पोलिटब्युरो सदस्यसमेत भइसकेका नेता हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीमा नियुक्त भएकी मन्त्री अर्याल स्याङ्जा २ बाट निर्वा्चित नेकपा सांसद हुन् । ०३७ सालदेखि तत्कालीन नेकपा माले हुँदै एमालेको राजनीतिमा संलग्न भएकी अर्याल तत्कालीन एमालेबाट जिल्ला कमिटी अध्यक्ष हुने पहिलो महिला हुन् । उनले स्याङ्जा एमालेको अध्यक्षमा निर्वाचन जितेकी थिइन् ।
०५४ सालको निर्वाचनमा वडा सदस्य जितेकी अर्याल ०६४ सालको संविधानसभामा समानुपातिक सभासद बनेकी थिइन् । यसैबीच डा. सुरेन्द्र यादवलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको छ । ढकाल र अर्यालसँगै यादवले राज्यमन्त्रीको शपथ ग्रहण गरे । महोत्तरी ४ बाट निर्वा्चित सांसद यादव संघीय समाजवादी फोरम नेपालका नेता हुन् । मधेस आन्दोलनमा लामो समयसम्म सक्रिय डा. यादव आन्दोलनको क्रममा घाइतेसमेत भएका थिए । आन्दोलनकारीको निःशुल्क उपचार गरेका डा. यादव चुनावभन्दा केही पहिले मात्र नयाँ शक्तिबाट फोरम नेपालमा प्रवेश गरेका थिए । उनको जनकपुरमा जानकी मेडिकल सेन्टर र नर्सिङ होमसमेत छ।
प्रकाशित मितिः August 3, 2018 at 6:51 pm























कर्मसञ्चार । २०७५ साउन १८ गते शुक्रवार