कहाँ जान्छ प्रहरीले बरामद गरेको लागूऔषध ?

 मुद्दा फैसला भएपछि सबै परिमाण मुचुल्का गरेर नष्ट गरिन्छ » प्रहरी

सुर्खेत, ३० भदौ ।
सुर्खेत प्रहरीले चालु आर्थिक वर्षको २ महिनामा मात्रै २२ ग्राम लागूऔषध (ब्राउनसुगर) बरामद ग¥यो । यो अवधिमा लागूऔषधसहित त्यसका प्रयोगकर्ता र कारोबारी ३० जना ब्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गरी मुद्दा चलायो । गत आर्थिक वर्ष २०७४÷०७५ मा ४३ ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३५ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

प्रहरीले ब्राउनसुगरसहित चरेश, अफिम तथा लागूऔषध ट्याब्लेटहरू पनि ठूलो मात्रामा बरामद गर्ने गरेको छ । तर, पक्राउ परेको लागूऔषध कसरी, कहाँ र कहिले नष्ट गरिन्छ या कहाँ जान्छ ? यस विषयमा अधिकांशलाई थाहै हुँदैन । महंगो मूल्य पर्ने लागुऔषध प्रहरीबाट दुरुपयोग भएको हुनसक्ने सर्वसाधारणको आशंका छ ।

बरामद गरेको घरेलु मदिरा संचारमाध्यमलाई खबर गरी सबैको रोहबरमा नष्ट गर्ने प्रहरीले लागूऔषध भने नष्ट गर्छ या दुरुपयोग भैरहेको छ भन्ने बारे कसैलाई पत्तो हुँदैन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरे भन्छन्,‘ प्रहरीले बरामद गरेको लागुपदार्थको केही मात्रा परीक्षणका लागि प्रयोगशाला पठाईन्छ । बाँकी अदालत र प्रहरीको मुद्दा फाँटमा रहन्छ । मुद्दा फैसला भएपछि सबै परिमाण मुचुल्का गरेर नष्ट गरिन्छ ।’ लागूऔषधसम्बन्धी मुद्दाको प्रक्रिया लामो हुने र तत्कालै नष्ट नगरिने हुँदा बरामद गरिएको लागूऔषध कहाँ जान्छ भन्ने जिज्ञासा हुनु स्वभाविक भएको उनले बताए ।

प्रहरीले ओसारपसार गर्नेहरुलाई मुद्दा चलाउन प्रमाणका रुपमा लागूऔषध अदालतमा पेश गरिसकेपछि निश्चित प्रक्रिया अपनाएर नष्ट गर्नुपर्ने प्रावधान छ । नष्ट गर्दा सबै पक्षको रोहबरमा गर्ने गरिएको एसपी रजौरेले दाबी गरे । लागूऔषध नष्ट गरिँदा संचारमाध्यमलाई खबर नगरिएकाले आम मानिसमा त्यस्तो भ्रम भएको हुनसक्ने भन्दै उनले आगामी दिनमा पारदर्शिताका लागि प्रहरीले लागूऔषध नष्ट गर्दा सरोकारवाला पक्षलाई खबर गर्ने बताए ।

भारतसँगको खुल्ला सिमानाका कारण नेपालगञ्जलगायतका सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध सुर्खेत भित्रिने गरेको छ । सुर्खेतलगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा लागूऔषध कारोबारी र प्रयोगकर्ताको संख्या पछिल्लो समय बढेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

प्रहरीले प्राथमिकताका साथ लागूऔषध ओसारपसार नियन्त्रण गरेको भनेपनि लागूऔषधको कारोबारमा कमी आउनुको साटो दिन प्रतिदिन बढ्दै गएको हो । दुई महिनाको छोटो अवधिमा ३० जना पक्राउ पर्नुले पनि यसका कारोबारी र प्रयोगकर्ताको संख्या बढेको पुष्टि गर्छ । लागूऔषधको कारोबार नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर जिल्ला प्रहरी कार्यालयले रणनीति बनाएको एसपी रजौरेले जिकिर गरे ।

वर्षेनि लागूऔषधको कारोबारको पारो उक्लिदै गएपनि प्रभावकारी रुपमा नियन्त्रण हुन सकेको छैन् । सुर्खेतमा मात्रै झन्डै ४ हजार हाराहारीमा यसका प्रयोगकर्ता रहेको अनौपचारिक तथ्यांक छ । साथीभाईको गलत संगत, अधिक तनाव, बेरोजगारी समस्या, मनग्य कमाउने लोभका कारण लागूऔषध कारोबार तथा प्रयोगकर्ता बढेका हुन् ।

लागूऔषधका कारोबारीले खुल्ला सीमाना भएकाले सहज रुपमा रुपैडिहा जाने र उतै प्रयोग गर्ने तथा सुर्खेत ल्याएर अन्य जिल्लाहरुसम्म पु¥याने गरेका छन् । आगूऔषधका प्रयोगकर्ता तथा कारोबार गर्ने गरिव, अशिक्षितमात्रै होइन, शिक्षित, उच्च घरानाका किशोर÷युवाहरु बढी यस्तोमा लागेको तथ्यांकले देखाएको छ । लागूऔषधको दलदलमा स्कुले विद्यार्थीदेखि वयस्कसम्म फसेका छन् । प्रहरीले सरोकारवाला निकायको समन्वयमा विभिन्न समयमा लागूऔषधका विरुद्धमा सचेतनामूलक कार्यक्रमहरु गरिरहेको बताइएको छ । पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरु नै लागूऔषधमा फसिरहेकाले यस्तो दलदलबाट छुटकारा दिलाउन सबै एकजुट हुुनुपर्ने एसपी रजौरेको भनाइ छ ।

अनुसन्धानमा तीन महिना !

फौजदारी मुद्दाका प्रतिवादीलाई २५ दिन अनुसन्धानका लागि राखिन्छ । तर, लागूऔषधकालाई ९० दिन अनुसन्धानका लागि राख्ने गरिएको छ । प्रदेशस्तरमा प्रयोगशाला नहुँदा लागूऔषध परीक्षण गर्न काठमाडौं लैजानुपर्ने बाध्यताका कारण यस्तो भएको हो ।

हाल लागूऔषध परीक्षण गर्ने, विशेषज्ञ तयार पार्ने वैज्ञानिक संयन्त्र काठमाडौंमा मात्र छ । ७५ वटै जिल्लाबाट परीक्षणका लागि काठमाडौं लैजानुपर्ने हुदाँ जनशक्ति र प्रविधिको समस्याका कारण अनुसन्धानमा ढिलाई हुने गरेको हो । त्यसैले लागूऔषध मुद्दाका प्रतिवादीलाई अरु फौजदारी मुद्दाका प्रतिवादीभन्दा लामो समयसम्म अनुसन्धाका लागि राखिन्छ र मुद्दा किनारा लाग्न पनि समय लाग्ने गरेको छ ।

लागूऔषध परीक्षणका लागि प्रयोगशाला नभएकै कारण मात्र अनुसन्धान प्रक्रिया ढिला भएको नभई लागूऔषध जटिल प्रकृतिको मुद्दा भएकाले अनुसन्धानमा समय लाग्ने एसपी रजौरेले बताए । प्रत्येक प्रदेशमा प्रयोगशाला भए यसको अनुसन्धानमा लामो समय नलाग्ने उनले बताए ।

प्रकाशित मितिः   September 15, 2018 at 5:26 pm 


  • प्रतिक्रिया दिनुहोस्