चौकुनेमा क्याम्पस स्थापनार्थ धार्मिक महायज्ञ

सुर्खेत, ३ कात्तिक ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा क्याम्पस स्थापनार्थ धार्मिक महायज्ञ लगाउने तयारी गरिएको छ । कृषि तथा वन विज्ञान संकायको क्याम्पस सञ्चालनका लागि रकम जुटाउन धार्मिक महायज्ञ सञ्चालन गरिने भएको हो । यही कात्तिक २२ गतेदेखि २९ गतेसम्म चौकुनेको गुटुमा महायज्ञ सञ्चालन गर्न लागिएको आयोजकले आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रस्तावित कृषि तथा वन विज्ञान क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहन बडुवालले ‘प्राविधिक शिक्षाको पूर्वाधार, समृद्ध चौकुनेको आधार’ भन्ने मूल नाराका साथ चौकुने गाउँपालिका–८ गुटुमा क्याम्पस स्थापनार्थ महायज्ञ लगाउन तयारी गरिएको बताए ।

प्रस्तावित कृषि तथा वन विज्ञान क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कृषि तथा वन विज्ञान संकायका रुपमा स्थापना हुने उनको दाबी छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तहको कृषि पाठ्यक्रम निर्माण गरिसकेकाले यसैवर्ष भौतिक संरचना निमार्ण गरी आगामी वर्षदेखि कक्षा सञ्चालन गर्ने लक्ष्यसहित आफूहरू लागि परेको नेकपा सुर्खेतका नेतासमेत रहेका बडुवालले जिकिर गरे । क्याम्पस अनुमतिका लागि विश्वविद्यालय सिनेटबाट निर्णय पास भइसकेकाले भौतिक संरचना निर्माणका लागि स्रोत जुटाउन महायज्ञ सञ्चालन गर्न लागेको उनको भनाइ छ ।

धार्मिक महायज्ञमा ४० लाख बराबरको रकम विभिन्न निकायबाट प्राप्त हुने आश्वासन पाइसकिएको र अन्य दानदाताहरूबाट थप रकम संकलन हुने अपेक्षा गरिएको महायज्ञ प्रचार–प्रसार उपसमितिका अध्यक्ष गोरख शाहीले जानकारी दिए । क्याम्पस स्थापना गर्न स्रोतको अभाव भएकोले स्रोत जुटाउन महायज्ञ सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । महायज्ञबाट ५ करोड बराबरको स्रोत संकलन हुने र करिब ३० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । महायज्ञमा ११ सय कलश बिक्री गरिने छन् भने महायज्ञ व्यवस्थापनका लागी २१ ओटा उपसमिति निर्माण गरिएको छ ।

प्रकाशित मितिः   October 20, 2019 at 7:02 pm 


  • प्रतिक्रिया दिनुहोस्