कर्णालीमा ‘रंगीन’ चर्चा…….

                                                                                  ईश्वर अधिकारी

‘अरु क्षेत्रमा थुप्रै विकास भएछ, परिवर्तन आएछ, यिनका साइज बढ्न सकेनन्, रङ फेरिएनछ, पेज थपिएनछ,’ दुई वर्षअघि वीरेन्द्रनगरको घण्टाघर पार्कमा नेकपा नेता रघुजी पन्तले सुर्खेतबाट प्रकाशित पत्रिकाहरू हेरेपछि तीनै पत्रिकामा कार्यरत हामी पत्रकारसँग यस्तै अनुभव साटेका थिए ।
‘ठ्याक्कै १० वर्षपछि सुर्खेत आउने मौका मिल्यो, यी पत्रिकाको हालत अझै उहीँ अवस्थामा देख्दा नमजा लाग्यो ।’ दशक बित्दा पनि यहाँका पत्र–पत्रिकाको रंग, साइज र ढंगमा कुनै परिवर्तन नदेखेपछि पूर्व पत्रकार, लेखक तथा स्तम्भकार समेत रहेका उनले भनेका थिए, यो त भएननी साथी हो । खोइ ‘अपग्रेड’ भएको ?’

जीवनको उर्जाशिल समय पत्रकारितामै खर्चिएका पन्तले मोफसलका पत्रिकाको अवस्थाप्रति चासो, चिन्ता र सरोकार राख्नु स्वभाविक थियो । हामीले वर्षैदेखि पत्रिकाका उपभोक्तालाई उहीँ थालमा, उहीँ चामलको भात उस्तै स्वादमा दिइरहयौँ । ‘खाए खाउँ नखाए घिच’कै शैलीमा !

अब भने ढिलै भए पनि पन्त जस्तै छापा मिडियाका शुभचिन्तक र पाठकलाई अखबारीय ‘भेराइटी’को फरक–फरक स्वाद चखाउने तरखर भएका छन् । कमसेकम त्यस्तो वातावरण तयार भएको छ । ढिलो आएको छ, तर रंगीन आएको छ । पाठकले अखबारको रंग र साइज फेरिएको मात्रै हेर्न पाउने होइन, स्वाद पनि फेर्न पाउने आशाका किरणहरू सञ्चार भएका छन् ।

यस हिसाबले मोफसल त्यो पनि कर्णाली जस्तो विकासका हरेक सूचकांकमा पछाडी रहेको प्रदेशमा यो परिवर्तन छापा सञ्चारमाध्यमका लागि नयाँ युगको आरम्भ हो । पत्रिका सञ्चालकका लागि व्यवसायिक फड्को त हुँदै हो, इतिहास रच्ने अवसर र गर्व गर्ने समय पनि हो । छापाको रंगीन यात्रा हामी पत्रकारका लागि पाठशाला हो । अवसर अनि खुसी दिने ‘प्लेटफर्म’ हो । अझ भनौं बगैंचा हो ।

झन्डै ५० को दशकदेखि शुरु भएको सुर्खेती अखबारीय यात्राको अहिले पनि हाल बेहाल छ । कैंयन कठिनाई, अभाव र चुनौतीका भीमकाय पहाडहरू छिचोल्दै पाठकका हातमा पुग्नुपर्ने स्थिति छ । साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय सदरमुकाम हाल प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट लिगल साइज (सानो) १०/१५ हुँदै ए–थ्री १८/२५ (मध्यम) र अहिले ब्रोडसिट (ठूलो) साइजसम्म छापायात्रा तय भएको छ । पृष्ठ–४, मूल्य रु.–२ । साँघुरो बजार, सीमित पाठक । सानो लगानी, न्यूनजनशक्ति । यहीँ क्रमले विगत दुई दशक बढी समय निरन्तरता पाइरहयो ।

यसबीचमा कति पत्र–पत्रिका प्रकाशन गर्ने योजना मात्रै बने । कोही जन्मिए मात्रै । कतिको न्वारनसम्म हुनसक्यो । कतिका घाँटी जन्मन नपाउँदै निमोठिए । कोही अहिलेसम्म जेनतेन घिर्सिएकै छन् । केही आफ्नै बलबुतामा हुँर्कदै डाहा लाग्नेगरी ठमठम हिँडिरहेका छन् । केहीले उड्ने आँट देखाउँदै छन् ।

पत्रिका यी अवस्थाबाट ग्रुजिनुको मुख्य कारण हो, छापामाध्यमलाई अनेक खाले अब्ठ्याराले अठ्याउनु । राजधानीकै हालत यस्तो भएपछि प्रदेशमै औंलामा गन्न सकिने पत्रिका बाहेक अन्यले बजारको ब्यावसायिक विज्ञापनबाट फस्टाउन सक्ने अवस्था आज पनि छैन । यो पत्रिका मात्रैको होइन, हाम्रो समग्र मिडिया बजारको तितो यथार्थ हो । ‘मार्केटिङ’ शैली र हामीले बनाएको बजारबाट टिक्नै मुस्कील भएको यर्थाथबीच यस विषयमा गहन चिन्तन मनन् गर्नु उचित हुन्छ । यसका अन्र्तवस्तुमाथि स्वस्थ बहस चलाईनु आवश्यक छ ।

अरु क्षेत्रभन्दा अलि बढी नै खुराफातमा पारङ्गत मिडियाकर्मीका लागि यतिबेला गफ लडाउने काइदाको अवसर जुरेको छ । कर्णालीको मिडियावृत्त यतिबेला ‘रंगीन’ चर्चामा छ ।

के छ मार्केटमा ? के हुँदैछ हल्लीखल्ली ?

आजभोली यस्तै संवादबाट गफगाफको सुरूवात हुन्छ । राजधानी हुनुले सुर्खेतमा यसको प्रभाव बढी देखिन्छ । अन्य जिल्लामा पनि रंगीनको रन्कोले छोएकै छ । एकाँध पत्रिकाले वीरेन्द्रनगरबाट ब्रोडसिट आकारमा रंगीन प्रकाशन थालेसँगै अरु पत्रिकालाई चुनौती थपिँदै छ । शुरु गरिहालौं डुबिने हो की डर, नगरौं प्रतिस्पर्धामा पछि परिने डर, के गर्ने र कसो गर्नेको दोधारमा प्रकाशकहरू छन् । ढिलो चाडो ठूलो साइज र रंगीन साजसज्जामा जानुको विकल्प उनीहरूसँग पनि छैन । किनकी समयको पदचाप पछ्याइएन भने पछि परिँन्छ । अस्थित्व जोगाउँनै मुस्कील हुन्छ । यो उनले पनि राम्रै बुझेका छन् ।

खासमा रङ मात्रै सबैथोक पक्कै होइन । रङ नचिन्नेलाई इन्द्रेणी पनि मुस्लो जस्तै हुन्छ । चिन्यो भने सेतो पनि रङ हो, कालो पनि रङ । कथित काला, साना पत्रिका र ब्रोडसिट उर्फ रंगीन पत्रिकालाई सानो, ठूलो, रंग, साइज, इत्तर, उदरभन्दा पनि तीनले समेट्ने विषयवस्तु र ढंगका आधारमा मूल्याकन गर्ने परिपाटी स्थापित हुँदै जानुपर्छ । पाठकका लागि पत्रिका गुलाबी उमेर अर्थात ‘टिन–एज’को प्रेम आकर्षण जस्तो होइन । पत्रिकासँग उसका उपभोक्ताको सम्बन्ध परिपक्क उमेरमा जोडिएको नाताजस्तै मजबुद र विश्वसनीय हुन सक्नुपर्छ । त्यसका लागि रंगभन्दा बढ्ता जोड ढंगमै दिनु आवश्यक हुन्छ । पत्रिकालाई यसकारण पनि रंगभेद होइन ढंगभेद गर्नु उचित हुन्छ ।

हिजो मात्रै होइन, अहिले पनि मिडियामा लगानी गर्नु घरखेत अझभनौं जाहेजेथा डुवाउने दुशाहसकै रुपमा बुझिन्छ । त्यो पनि पत्रिकामा । यसको मतलब हो, मिडियाको लगानी घाटाको ब्यापार हो । मिडिया उद्योग त हो । तर, यसको मुख्य उद्देश्य नाफा कमाउनु अर्थात् ब्यापार गर्नु होइन । यसलाई कसैले नाफामूलक ब्यापार मात्रै बुझेर लगानी गरेको भए उ त डुब्छ नै व्यवसायिक पत्रकारितासमेत उसैसँग सति जानुपर्ने बाध्यता आइलाग्छ । मिडियाको लगानी जोखिममा पर्नु भनेको व्यवसायिक पत्रकारिता पनि धरासायी हुनु हो ।

एकातर्फ मिडिया उद्योग हो भन्ने गरिन्छ । लगानी छ । यसका उत्पादन छन् । श्रमिक छन् । बजार छ । उपभोक्ता छन् । यस हिसाबले मिडिया निशन्देहः उद्योग नै हो । अर्कोतर्फ मिडिया उद्यमीले नै यसलाई उद्योगको रुपमा स्वीकार्न नसकिरहेको अवस्था विद्यमान छ । उनीहरू भन्छन्,– बजार छैन, विज्ञापन भएन, प्रेस काउन्सिलले उचित वर्गीकरण गर्दैन, समानुपातिक विज्ञापन प्रणाली लागू भएन । सरकारी विज्ञापनमा विभेद गरिँन्छ, मिडिया घाटामा छ ।’ यस्तै रोइँलो तेर्साएर श्रमजीविलाई मिडिया हाउसले शोषण गरिरहेको आरोप सुनिँदै र पढिँदै आएको छ ।

यति हुँदा हुँदै पत्रिका प्रकाशन गर्ने, रेडियो, टिभी र अनलाइनलगायतका मिडिया सञ्चालन गर्ने उत्साह भने उल्कै देखिन्छ । यसमा खास त्यस्तो चीज के छ ? लगानीकर्ता घाटाको ब्यापार गर्न किन उत्साहित भइरहेका छन् ? श्रमजीविहरू पारिश्रमको ठेगान नभइ किन श्रम गरिरहेछन् ? यो अर्को बहसको विषय बन्ला ।

हो, विरोधावास छ !

प्रश्न जरूर उठ्छ, आफै घाटामा गएर सिंगो पेशा नै कसरी व्यावसायिक हुन्छ ? यस्ता खाले तमाम सवालकाबीच हुँर्कदै गइरहेका मोफसलका मिडियाले लोकतन्त्र र संघीय व्यवस्थालाई बलियो बनाउन कुन स्तरको योगदान दिन सक्लान ? मालिक र श्रमजीवि बीचको तिक्तता कसरी सौहार्द बन्ला ?

खुल्ला र प्रतिस्पर्धी बजारमा उद्योग सञ्चालन गर्नुको मुख्य ध्येय नाफा कमाउनु नै हो । तर, अन्य दैनिक उपभोग्य सामान उत्पादन गर्ने उद्योग र मिडिया उद्योगको बजार तथा व्यवसायिक योजना एकै खालको हुन सक्दैन । कम्तिमा ‘इस्यु’ बेच्नु र अण्डा बेच्नु फरक हो भन्नेमा ‘कन्भिन्स’ भएर मात्रै मिडियामा लगानी गर्नु उचित ठहरिन्छ । बुद्धिमानी हुन्छ । मिडियामा लगानी गरेर रातारात कठ्ठा र तला जोड्ने सोचले कोही लगानी गर्न आतुर छ भने त्यो भ्रम मात्रै सावित हुन्छ । यस्तो लगानी अस्वस्थ र घातक बन्छ ।

जागिर दिने र प्रेस कार्ड बनाइदिने मिडिया हाउसको बाहुल्यता अहिले पनि कायमै छ । कर्मचारीलाई नियमित तलब दिन सक्ने मिडियाको संख्या न्यून छ । पत्रकारले पनि ‘जस्तो तिम्रो तिउँन ताहुँन उस्तै हाम्रो सिउँन साहुँन’ भने झैँ झारो टार्ने बाहेक थप व्यवसायिक क्षमता विकास गर्न सकिरहेका छैनन् । रहर मेट्ने थलो मात्रै बनाएपछि न मिडिया उँभो लाग्ने भयो नत पत्रकार नै खारिने भए । व्यवसायिकता र आर्थिक उपार्जनको हिसाबले कर्णालीको पत्रकारिता आज पनि लगभग समाजसेवाकै अवस्थामा छ ।
लगानीसँगै आवश्यक जनशक्ति नहुनु मिडिया उद्योगको अर्को ठूलो चुनौती हो । एक जनाको भरमा सिंगो मिडिया उद्योग सञ्चालन गरेर हामीले पाठक, स्रोत र दर्शकलाई के चाहिँ दिइरहेका हौंला ! सोचनीय विषय यहीँ हो । ‘मिडिया चलाउने जनशक्ति नै छैन,’ अधिकांश सञ्चालकको रेडिमेट गुनासो यस्तै हुन्छ ।

हामीलाई स्वाद लागे साथीको छोरो जन्मदा पनि ब्यानर समाचार बनेकै हुन्छ ! स्वाद नलागे रोगको महामारीले गाउँ नै रित्तिदा पनि एक ‘कोलम’ समाचार आउँदैन । नजिकको व्यक्तिको स्तुतिगान (चाकडी) मा आफ्नो मिडियामा हजारौं शब्द खाद्ने हामीले जनसरोकारका विषयमा लाज पचाएर छपक्कै आँखा चिम्लन्छौँ किन ? जति सत्य, तथ्य र निश्पक्षको दुहाई दिए पनि अपवाद छोडेर आखिर मोफसलको पत्रकारिताको वास्तविकता त यहीँ हो ! पाठकले हाम्रा अखबारका नाडी नसा नछामेका होइनन् । दर्शक, स्रोता र पाठकका प्रतिक्रियासमेत लिन छाडिसकेका हामीले मिडियाका उपभोक्तालाई दिने खुराकमा पनि ‘अपग्रेड’ हुने बेला आइसकेको छ ।

मिडिया ‘मालिक’ बन्न जति गाह्रो छ, उस्तै मुस्कील पत्रकारितामा टिकिराख्न छ । मालिक बन्ने सौभाग्य प्राप्त भएको छैन । श्रमिक भएर पत्रकारिताको रहर मेट्न झन्डै एक दशक समय मैले पनि दाउमा चाहिँ लगाइसकेको छु । मसँग पत्रकार भइटोपल्नुका आफ्नै खाले अनुभव छन् । हाम्रो पत्रकारिता मुख्यगरी आर्थिक र भौतिक रुपले असुरक्षित त छ नै योभन्दा बढ्ता सामाजिक रुपले असुरक्षित छ । हामी पत्रकारलाई परिवार, आफन्त, समाज, र अन्य पेशा व्यवसायका व्यक्तिले मात्रै होइन, पत्रकारितामै कपाल फूलाएका अग्रजले दिने एक मात्र सुझाव हो– अरु केही गरे हुन्छ !

पत्रकारिता कर्मलाई फोकट मान्ने र विचरा ठान्नेको संख्या ठूलै छ । खल्लो लाग्ला, पत्रकारिता पेशामा कसैबाट खतरा छ भने त्यो पत्रकारबाटै बढी छ । यस विषयका अनेक आयमहरूबारे बहस र छलफल गर्न सकिन्छ । अहिले यस विषयमा योभन्दा बढी जान चाहिँन ।
विकसित मुलुकमा छापामाध्यमको अस्थित्व सकिने बेला हामी बल्ल यसको स्तरवृद्धिमा जुटेका छौँ । उज्जवल भविष्य डिजिटल (अनलाइन) माध्यमकै छ । तैपनि रंगीन पत्रिका देख्न पाउनु हाम्रा लागि चीज भएको छ ! छापा मात्रै होइन, कर्णालीको समग्र सञ्चार यात्रा अब आमसञ्चारका बहु–आयामिक सञ्जालसँग जोडिँदै जानुपर्छ । आशा गरौं, हामीले गरिरहेको पत्रकारिता अब थप परिष्कृत बन्नेछ । सञ्चारमाध्यमलाई कर्म र लगनशिलताले टिकाउ, विकाउ र विश्वसनीय बनाउन सके मात्रै जनताको आवाज हुनेछ ।
(यो लेख यसअघि कर्णालीपत्र दैनिक र कर्णालीपत्र डटकममा प्रकाशित भइसकेको छ ।)

प्रकाशित मितिः   September 23, 2019 at 7:44 pm 


  • प्रतिक्रिया दिनुहोस्