सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति

शिक्षकको सडक आन्दोलन र शैक्षिक हडताल स्थगित

काठमाडौंः  सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ । उक्त सहमतिलाई मन्त्रिपरिषद्‌को बुधबारको बैठकले अनुमोदनसमेत गरिसकेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए । मन्त्रिपरिषद‍्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । यो सहमतिसँगै शिक्षक महासंघले २९ दिनदेखि जारी शैक्षिक हड्ताल स्थगित गरेको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । ‘आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने । परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे । शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको सहमतिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको मन्त्री पन्तले जानकारी दिए । सहमतिपछि अब शिक्षकहरु विद्यालय फर्कने शिक्षा मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित मितिः   April 30, 2025 at 9:50 pm 


  • प्रतिक्रिया दिनुहोस्