काठमाडौं, २० पुस ।
देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ। ६६ प्रतिशत नर्स बेरोजगार छन्। नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन्। काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन्। काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ।
४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। निजी स्वास्थ्य संस्थामा करिब १३ हजार कार्यरत छन्। परिवार कल्याण महाशाखा नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको यकिन तथ्यांक नभएको बताउँछिन्। सरकारीको पनि ठ्याक्कै तथ्यांक भने छैन।
मन्त्रालयले पहिलोपटक गरिरहेको कर्मचारीको विवरण संकलन सकिएपछि नर्सको आधिकारिक तथ्यांक आउने अर्यालको भनाइ छ। मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दी दुई हजार नौ सय ४५ खाली छ।
प्रकाशित मितिः January 4, 2019 at 4:06 pm













कर्मसञ्चार । २०७५ पुष २० गते शुक्रवार