
अख्तियारले पक्राउ गरेका प्रहरी असइ जन्म अधिकारी
सुर्खेत, १६ माघ ।
नेपाल प्रहरीका असई जन्म अधिकारी धेरै प्रहरी अधिकृतको फूली थप्ने कार्यका सूत्रधार रहे। पाँच वर्षदेखि उनको ड्युटी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत र नेपालगञ्ज कार्यालयका लागि थियो।
उनी एक सिद्धहस्त ‘स्ट्रिङ अपरेटर’ मानिन्थे। आयोगको नेपालगञ्ज र सुर्खेत कार्यालय प्रमुख एसपी बसन्त कुँवर र दिपक थापाको सफलताको पछाडि उनको भूमिका सधैँ महत्वपूर्ण रह्यो। सूचना, योजना र कारवाहीमा सधैँ सफल रहेका जन्म अधिकारी आइतबार आफैँ पक्राउ परे। त्यो पनि अख्तियारकै टोलीबाट।
आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले बर्दिया राष्ट्रिय निकुन्जको चेकपोष्टबाट नियन्त्रणमा लिएका उनलाई हाल काठमाडौं ल्याइएको छ। अहिले अधिकारी आयोगको हिरासतमा छन्।
‘असई अधिकारीले अब्बल काम गरेको देखेपछि उनी अख्तियारबाटै तालिमका लागि थाइल्याण्ड पनि गए,’ अधिकारीसँगै काम गरेका एक प्रहरी अधिकारीले भने, ‘उसको योजना कहिले मिस हुँदैनथ्यो।’ अनियमितता अनुसन्धानमा थाइल्यान्ड सरकारले दिने तालिम दक्षिण एवं पूर्वी एशियामै विशेष मानिन्छ।
आयोगको सुर्खेत कार्यालयमा कार्यरत अधिकारी भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा चलखेल गरिरहँदा पक्राउ परेका हुन्। आयोग स्रोतका अनुसार ग्राबेल बाटो निर्माणमा भएको अनियमितताको अनुसन्धानसम्बन्धी फाइल गायब बनाउने कार्यमा असइ अधिकारीको संलग्नता देखिएको छ।
‘अनुसन्धान भइरहेको फाइल ७ लाख दिए मुल्तबीमा लैजाने भन्दै बार्गेनिङ भइरहेको रहेछ,’ आयोग स्रोतले भन्यो ‘भने बमोजिमको रकम पाए सक्कली फाइल नै उपलब्ध गराउने सम्झौता भएको थियो।’
आयोग स्रोतका अनुसार असई अधिकारीले घुस मागिरेको मौखिक सूचना माघ २ मा आयोगमा परेको थियो। उजुरी आएपछि प्रमुख आयुक्त नबीनकुमार घिमिरेको निर्देशनमा अनुसन्धान सुरु भएको थियो। आयोगबाट एउटा टोली सुर्खेत र नेपालगञ्जमा खटिएको थियो।
टोली खटिएको जानकारीबाट बेखबर रहेका असई अधिकारीले अनुसन्धान भइरहेको ब्यक्तिसँग मुद्दा दर्ता प्रक्रियामा जाने अवस्था भएकाले तत्कालका लागि एक लाख माग गरेका थिए। ‘पैसा मागे पनि वातावरण मिलाएर लिने योजनामा थिए,’ अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘तर पैसा लिन भने उनले सकेनन्।’ उनले बार्गेनिङ गरेको अडियो र भिडियो उपलब्ध भएपछि आयोगले नियन्त्रणमा लिएको हो।
बर्दिया स्थायी घर भएका असई अधिकारी बाँकेको कोहलपुरमा बस्दै आएका थिए। लामो समय एकै क्षेत्रमा कार्यरत भएकाले उनी पछिल्लो समय कारवाहीभन्दा सेटिङमा ब्यस्त रहेको आयोगको शंका छ। ‘घटनामा उसको मात्र संलग्नता हो वा माथिसम्म कोही जोडिएको छ,’ ती अधिकारीले थपे ‘विस्तृत अनुसन्धान सुरु भएको छ।’
नेपालखबरबाट
प्रकाशित मितिः January 30, 2019 at 2:40 pm













कर्मसञ्चार । २०७५ माघ १६ गते बुधवार