वीरेन्द्रनगरको कटकुवास्थित भिरबाट फालिएका मृत गाई।सुर्खेत, १४ भदौ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा र ब्यूरेनी खोलामा भएको गौहत्या प्रकरणबारे छानबिन गर्न गृृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको हो ।
समितिलाई १५ दिनभित्र घटनाबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ । गौहत्यामा संलग्नलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने बताएको छ ।
नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीनाथ लैजान भन्दै पठाइएका १८ गाई र ६ गोरु कटकुवा र ब्यूरेनी खोलामा विहीबार राति भिरबाट खसालिएको भेटिएको थियो ।
नेपालगञ्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर ३७० वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा ल्याइएको थियो । ती गाईगोरु बाटोमा फाल्दै ल्याइएको भेटिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगरको कटकुवा क्षेत्रमा बेवारिसे छोडिएकामध्ये १०० गाई शुक्रबार साँझ नै नेपालगञ्ज फिर्ता पठाइएको छ । गाई गोरु छाड्ने ५ ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कारबाहीको माग गर्दै प्रदर्शन

भिरबाट फालिएका गाईहरूको बारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ। इलेक्ट्रोनिक्स वस्तुगत समिति सुर्खेतको आयोजनामा शनिबार विरोध प्रदर्शन गरिएको हो।
समितिका अध्यक्ष भुवन ज्ञवालीले दर्जन बढी गाई मृत भेटिनु रहस्यमय भएकाले उचित छानबिन गर्न माग गरे।
प्रकाशित मितिः August 31, 2019 at 5:56 pm























कर्मसञ्चार । २०७६ भाद्र १४ गते शनिवार