सुर्खेत, २१ साउन ।
सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा शहादत प्राप्त गरेका ४ जना शहिदहरुको सम्झनामा याम बिसी स्मृति प्रतिष्ठानले अस्पताललाई सामग्रीहरु हस्तान्तरण गरेको हो ।
१२ थान बेडसिट (तन्दा) र २ वटा बाल्टिन याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् शहिद याम बहादुर बिसीका पिता शेरबहादुर बुढाले हस्तान्तरण गरेका हुन् । क्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्कालाई उनले सामग्रीहरु हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पताल प्रमुख मेसु डा. खड्काले आन्दोलनको समयमा भएको क्षतिप्रति दुःख व्यक्त गरे । राजनीतिक श्रेय लिन खोज्नेहरुका कारण उक्त आन्दोलनमा सर्वसाधारणले ज्यान गुमाउनु परेकोमा आफू दुःखी भएको बताउँदै उनले शहिदहरुको आत्माको चीरशान्तिको कामना समेत गरे ।
शोकलाई शक्तिका रुपमा परिणत गर्दै शहिद परिवारले अस्पताललाई सहयोग गरेकोमा खुसी व्यक्त गरे । कर्णाली प्रदेशको राजधानीमा रहेको अस्पताललाई सबैको साथ र सहयोगले अझैँ परिस्कृत गर्दै लैजान सकिने उनको भनाइ थियो । प्रतिष्ठानले यही साउन १९ गतेदेखि शहिदहरुको सम्झनामा सप्ताहव्यापी कार्यक्रमहरु गरिरहेको छ । तत्कालिन आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम, गोपालसिं रजवार र जुम्लाका हरिबहादुर कुँवरले शहादत प्राप्त गरेका थिए ।
प्रकाशित मितिः August 6, 2018 at 2:13 pm























कर्मसञ्चार । २०७५ साउन २१ गते सोमवार