सुर्खेतमा भोली सातै प्रदेशका कलाकारको ‘सप्तरंग’ सांगितिक प्रस्तुति


सुर्खेत, २५ माघ ।
कर्णालीको राजधानी वीरेन्द्रनगरमा भोली माघ २६ गते सांस्कृतिक कार्यक्रम ‘सप्तरंग’को आयोजना गरिने भएको छ । गृष्मा व्रोडकास्टिङ्ग प्रालिले आयोजना गरेको उक्त कार्यक्रममा एक पृथक सांगितिक यात्राको नाउँबाट विभिन्न कलाकारले प्रस्तुति दिने आयोजकले जनाएको छ । आयोजक संस्थाका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार देशमा संघीयता आएसँगै जनतालाई, जनताद्धारा, जनताको निपम्ति भन्ने भनाईलाई जनमानसमा कलामार्फत पु¥याउन ‘सप्तरंग’को आयोजना गरिएको हो । उनका अनुसार कार्यक्रम भोली शनिबार पिपल चौतारामा दिउँसो ३ बजे आयोजना गरिनेछ ।

‘सातै प्रदेशको आर्थिक तथा सामाजिक रुपान्तरणका निम्ती, सदभाव र ऐक्यवद्धता सारा नेपाली माझ प्रस्फुटन गराउन, सातै प्रदेशमा उदयमान नक्षत्रहरुलाई पहिल्याउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’ निर्देशक घिमिरेले थपे, ‘यसका अलावा आफ्नो जाती, भेषभुषा अनि संस्कृतिको प्रर्वद्धन गर्न, सातै प्रदेशलाई पर्यटकीय गन्तब्य बनाउन, विविधतामा एकता भन्ने भनाईलाई यथार्थतामा दर्शाउन र हरेक नेपालीलाई नेपाल र नेपाली हुनुको गर्व आभाष गराउने उदेश्यले हामीले यो कार्यक्रमको आयोजना गरेका हौं ।’

कार्यक्रममा दमकको प्रतिनिधित्व गर्दै गायक प्रमोद खरेल आउने भएका छन भने जनकपुरबाट सन्दिप क्षेत्री आउँदैछन् । नारायणघाटको प्रतिनिधित्व गर्दै रामकृष्ण ढकाल आउने भएको आयोजकले जनाएको छ । बुटवलबाट पशुपति शर्माको प्रतिनिधित्व हुँदा सुर्खेतबाट इन्दीरा जोशीले धमाकेदार प्रस्तुति दिनेछिन ।

त्यस्तै धनगढीबाट अन्जली अधिकारीको प्रस्तुती हुँदा पोखराका दिपक विष्टले सबैलाई दंग पार्ने सांगितिक कोसेली दिनेछन् । आयोजकले सबैलाई कार्यक्रममा सहभागि भइदिन आग्रह समेत गरेको छ । कार्यक्रमको उद्घाटन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः   February 8, 2019 at 11:52 am 


  • प्रतिक्रिया दिनुहोस्