प्रचण्ड र भेषबहादुर थापाले भोग्नु परेको समान पीडा

तेजश्री थापा

काठमाडौं, १३ चैत ।

आफू जीवित छँदै एक पछि अर्काे गर्दै सन्तान गुमाउनु जस्तो पीडा अविभावकहरुका लागि अरु के नै हुन्छ र ? नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भोगेको यही पीडा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका सुप्रसिद्ध नेपाली कुटनीतिज्ञ डा भेषबहादुर थापाले बेहोर्नु परेको छ।

८४ बर्षीय थापाले यसै हप्ता छोरी तेजश्री थापालाई गुमाएका छन्। तेजश्रीको अमेरिकाको न्यूयोर्कमा निधन भएको हो। पत्रकार डेनियल ल्याकले मायाँसहित न्यूयोर्कमा उपस्थित परिवारका सदस्यहरुको बीचमा तेजश्रीको मृत्यु भएको अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा उल्लेख गरेका छन्।

काठमाडौँमा जन्मेर ५२ बर्षको उमेरमा न्यूयोर्कमा निधन भएकी तेजश्री सामाजिक न्यायको क्षेत्रमा वकालत गर्ने अग्रणी अभियन्ता थिइन्। उनले आफ्नो करिअर श्रीलङ्काका द्वन्द्कालमा महिलामाथि भएका हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष अभिलेखकर्ताको रुपमा सुरुवात गरेकी थिइन्।

उनले नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा भूतपूर्व युगोस्लाभियामा भएको युद्धका क्रममा भएको मानवताविरोधी घटनाहरुको अभियोजनकर्ता भएर पनि काम गरिन्। त्यसक्रममा लैँगिक हिंसा र अपराध सम्बन्धी घटनाहरुलाई अभिलेखिकरण गर्ने कामपनि गरेकी थिइन्।

पूर्वी बोत्स्नियाको फोका शहरमा भएको एउटा घटनाको उनले यसरी अनुसन्धान र खोजविन गरिन् कि, त्यसकै आधारमा मुद्दा दायर भयो र ८ जना पूर्व सैनिक अधिकारीहरुमाथि मुद्दा दायर हुनुका साथै उनीहरुमाथि अन्तर्राष्ट्रिय अदालतले जेल सजायँसमेत तोक्यो।

स्व तेजश्रीका बहिनी-ज्वाइँ (साहित्यकार/लेखक मञ्जुश्री थापाका श्रीमान्) समेत रहेका पत्रकार ल्याकका भनाईमा, अन्तर्राष्ट्रिय कानूनको आधारमा जो कसैमाथि मुद्दा दायर र सजायँ समेत तोकिएको पहिलो घटना थियो। र, यसरी युद्धका बेलामा भएका अपराधका दोषीहरुलाई न्यायको कठघरामा ल्याउने विषयमा तेजश्रीले महत्वपूर्ण योगदान दिइन्।

युद्ध अपराधको आरोप लागेका स्लोभाकियाका तत्कालिन राष्ट्रपति स्लोभोदान मिलोसोभिकमाथिको मुद्दाको सुनुवाई भएको इजलासमा पनि तेजश्रीले काम गरेकी थिइन्। त्यसक्रममा मिलोसोभिक दोषी ठहरिए। सन् २०६६ मा उनले हिरासतमै आत्महत्या गरेका थिए।

अन्तर्राष्ट्रिय क्षेत्रमा मात्र होइन, तेजश्रीले आफ्नै मुलुक नेपाल र दक्षिण एसियाको अर्काे द्वन्द्ग्रस्त मुलुक श्रीलंकामा द्वन्द्वकालमा भएका हिँसा र मानव अधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गर्ने भूमिका निर्वाह गरिन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्धी पाएकी छोरी तेजश्रीको निधन अघि डा थापाले छोरा भाष्कर थापालाई गुमाएका थिए। भाष्कर पनि अन्तर्राष्ट्रिय जगतमा नाम कमाएका टनेल (सुरुङ) इन्जिनियर थिए। ५० बर्षको उमेरमा २०७० को असार दोस्रो साता निधन भएको थियो।

यस्तै पारिवारिक पीडा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पनि भोगिरहेका छन्। ठीक ५ बर्षअघि आजकै दिन १३ चैत्र ०७० मा प्रचण्डले क्यान्सरबाट पीडित जेठी छोरी ज्ञानु दाहाललाई गुमाएका थिए भने ३ मंसिर ०७४ मा एकमात्र छोरा प्रकाशलाई गुमाए।

पुत्रशोकका कारण पत्नी सीताको रोगमाथि रोग थपिएको छ। र, उपचारको सिलसिलामा २ हप्ता बिताएर उनी हिजोमात्र अमेरिकाबाट काठमाडौँ प्रस्थान गरेका छन्। त्यही बेला उता डा थापाले आफ्नी जेठी छोरी तेजश्रीलाई अल्पायुमै गुमाउनु परेको छ।

नेपालखबरबाट 

प्रकाशित मितिः   March 27, 2019 at 2:19 pm 


  • प्रतिक्रिया दिनुहोस्