जनमुखी सहकारीले थाल्यो बिउबिजन उत्पादन

सुर्खेत, ३१ साउन ।
बिउमा परनिर्भरता बढ्दै गएपछि सुर्खेतको वीरेन्द्रनगरमा रहेको जनमुखी कृषि तथा पशुपालन सहकारी संस्थाले बिउ उत्पादन गर्ने भएको छ । संस्थाले आफ्ना सदस्य किसानहरु मार्फत मकैको बिउ उत्पादन गरी विक्री वितरण गर्ने तयारी गरेको हो ।

पहिलो चरणमा सुर्खेतको लेकबेशी र भेरीगंगा नगरपालिकाका विभिन्न वडामा मकैको विउ उत्पादनको काम थालिएको छ । बिहीबार वीरेन्द्रनगरमा आयोजित संस्थाको वार्षिक योजना तर्जुमा कार्यक्रममा सुर्खेतसहित आसपासको क्षेत्रमा विउको माग बढी र उत्पादन कम हुँदा संस्थाले बिउ उत्पादन गर्ने निर्णय गरेको बताइएको हो ।
‘यहाँको आवश्यकतालाई ध्यानमा राखेर विउ उत्पादन शुरु गरेका हौं,’ सहकारी संस्थाका सचिव अध्यक्ष शेरबहादुर खड्काले भने, ‘आगामी दिनमा धान गहुँ र तरकारीको विउसमेत उत्पादन गर्ने योजना छ ।’ किसानहरुलाई खेतीको समयमा विउको समस्या हुने गरेको भन्दै उनले अबदेखि सहकारीले विउ उत्पादन गरेर स्टोर गर्ने बताए । ‘किसानहरु अहिले बाहिरबाट आयत गरेको बिउ महँगो मूल्यमा किन्न बाध्य छन्,’ सचिव खड्काले भने, ‘अब किसानले आफैले उत्पादन गरेको बिउ आफैले उपभोग गर्न पाउने छन् ।’

जनमुखीले चालु आर्थिक वर्षबाटै वीरेन्द्रनगर नगरपालिकासहित भेरीगंगा र लेकबेशीका विभिन्न क्षेत्रमा कृषि तथा पशुपालन सम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याउने बताएको छ ।

संस्थाले हाल कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै किसानहरुको आय–आर्जमा बृद्घि गर्ने कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । संस्थाले आगामी दिनमा कृषकहरुको आर्थिक सशक्तिकरणमा जोड दिने कार्यक्रमहरु प्राथमिकतामा राखेको संस्थाका अध्यक्ष बिन्द्रा थापाले जानकारी दिइन् ।

प्रकाशित मितिः   August 16, 2018 at 7:18 pm 


  • प्रतिक्रिया दिनुहोस्