मुलुकभर बदली, वर्षा र हिमपात

सुर्खेत, २४ माघ ।

सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात सुरु भएको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

महाशाखाका मौसमविद् बरुण पौडेल मौसमको यो प्रणालीले पश्चिममा हिजो दिउँसोदेखि नै प्रभाव पारेको र आज बिहान काठमाडौँसम्म आइपुगेको जानकारी दिँदै भने, ‘अहिले काठमाडौँ पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ ।’ यो क्रम पूर्वतिर सरिरहेको र पूर्वतिर आज पानी पर्ने जानकारी गराउँदै उनले यो अवस्था तीन दिनसम्म कायम रहनसक्ने बताए ।

हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ । मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौँ पूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए । ‘पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छ,’ मौसमविद् पौडेलले भने । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको छ ।

प्रकाशित मितिः   February 7, 2019 at 6:20 pm 


  • प्रतिक्रिया दिनुहोस्