आजबाट सामाजिक सुरक्षा योजना कार्यान्वयनमा

काठमाडौं, ११ मंसिर ।

सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको छ । औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने ग्यारेन्टी प्रदान गर्ने यस योजनाको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहका बीच योजना प्रारम्भ भएको घोषणा गरे ।

सरकारले ‘नयाँ युग’ शूरुअात भएको भनेर यस योजनालाई प्रचारप्रसार गरेको छ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् ।

कोषमा जम्मा हुने रकमबाट श्रमिकलाई पेन्सन र अवकास सुविधा मात्रै दिँइदै छैन, कार्यस्थलको हुने दुर्घटनाको बीमा, कामदारको उपचार खर्चसहित श्रमिकका आश्रति परिवारका लागि पनि विभिन्न सुविधा घोषणा भएको छ ।

कोषले यस्तो रकमको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४० प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रति परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनाको लागि खर्च गर्नेछ । सरकारले कामदारको समाजिक सुरक्षाका लागि रोजगारदाता आवद्ध गर्ने प्रक्रिया थालिसकेको छ ।

कसरी सहभागी हुने पेन्सनसहितको सामाजिक सुरक्षा योजनामा ?

सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा तोकिसकेको छ । काठमाडौं उपत्याकाका ३ जिल्लाभित्रका रोजगारदाताहरु मंसिर, ६ देखि फागुन ६ गतेभित्र कोषमा दर्ता हुनुपर्ने कोषका प्रमुख श्यामराज अधिकारीले जानकारी दिए ।

उपत्यकाबाहेक प्रदेश ३ का रोजगारदाताले कोषमा अवद्ध हुन मंसिर १५ देखि फागुन १५ भित्र, प्रदेश १ काले पुस १ देखि चैत १ सम्म, प्रदेश २ काले पुस १५ देखि चैत १५ सम्म र गण्डकी एवं प्रदेश ५ का बासिन्दाले माघ १ देखि बैशाख १ गते तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका रोजगारदाताले माघ १५ देखि वैशाख १५ भित्र कोषमा निवेदन दर्ता गराउनुपर्छ । यो निवेदनका आधारमा कोषले रोजगारदातालाई सूचीकृत गर्छ र दर्ता नम्बर दिने प्रमुख अधिकारीले बताए ।

प्रकाशित मितिः   November 27, 2018 at 6:11 pm 


  • प्रतिक्रिया दिनुहोस्