काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को एकतापश्चात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको आठ महिना भइसक्यो । निर्वाचन आयोगमा दर्ता भएअनुसार पार्टी एउटै हो, तर यसको कार्यालय भने दुईतिर चलिरहेका छन् ।
पूर्वमाओवादी केन्द्रको कार्यालय पेरिसडाँडा र पूर्वएमालेको कार्यालय धुम्बाराही दुवै सञ्चालनमा छन् भने कार्यालय सचिव पनि दुईजना छन् । पेरिसडाँडा कार्यालय प्रह्लाद बुढाथोकीले र धुम्बाराही कार्यालय कृष्णगोपाल श्रेष्ठले हाँकिरहेका छन् ।
पेरिसडाँडा र धुम्बाराहीमध्ये कुन मुख्य कार्यालय हो भन्नेमा दुई सचिव एकमत छैनन् । एकतापछि पार्टीको मुख्य कार्यालय यकिन नभएको पेरिसडाँडा सचिव बुढाथोकी बताउँछन् । अर्का सचिव श्रेष्ठ भने पार्टी मुख्यालय धुम्बाराही नै भएको दाबी गर्छन् ।
दुवै कार्यालयका सचिव एकतापछि भूतपूर्व भइसकेका छन् । तर कार्यालय सचिवकै हैसियतमा बुढाथोकी र श्रेष्ठले कामकाज गरिरहेका छन् । नेकपाको कार्यालय सचिवको हैसियतमा कोही पनि नतोकिएको बुढाथोकीको दाबी छ ।
धुम्बाराही नै पार्टी मुख्यालय भएकोमा जोड दिँदै श्रेष्ठले भने, ‘पेरिसडाडाँबाट पार्टीको सांगठनिक तथा विभागीय काम हुन्छ । महिला आयोग, किसान आयोग, जनसम्पर्क मञ्चलगायतका काम हुन्छन् ।’ उनका अनुसार पार्टीको केन्द्रीयदेखि स्थानीय तहसम्मको राजनीतिक काम भने धुम्बाराहीबाटै भइरहेको छ ।
पेरिसडाँडाबाट पार्टीको विभागीय काम मात्र हुने तथ्यलाई भने बुढाथोकी पनि स्वीकार गर्छन् । उनी अगाडि थप्छन्, ‘तर, विभाग गठन नभएकाले अहिले कुनै काम भएको छैन । पूर्वमाओवादीको फाइलिङ गर्ने काम मात्र यहाँ भइरहेको छ ।’
पार्टीको केन्द्रीय विभाग तथा आयोगको कार्यालय पेरिसडाँडामा रहने निर्णय भएको जानकारी पनि सचिव बुढाथोकीले दिए । पार्टीको नयाँ कार्यालय भवन भने भूकम्पले भत्किएको पूर्वएमाले कार्यालय रहेको स्थान बल्खुमा निर्माण भइरहेको छ ।
नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले पनि पार्टीको मुख्य कार्यालय धुम्बाराही नै भएको प्रस्ट पारेका छन् । उनले भने, ‘पार्टीको मुख्य कार्यालय धुम्बाराही नै हो । यहीँबाट हाम्रो पार्टी सञ्चालनका महत्त्वपूर्ण कार्यहरू हुन्छन् । पेरिसडाँडामा पार्टीको जनवर्गीय, विभागीय, पदाधिकारी बैठकका काम हुन्छन् ।’
नेकपाको कार्यालय मात्र होइन, जनवर्गीय संगठन पनि अलगअलग कायम छन् । पूर्वमाओवादी केन्द्र र एमाले दुवैका जनवर्गीय संगठन अस्तित्वमा छँदै छन् । मजदुर, विद्यार्थीलगायत संगठनका नेता पहिलेकै हैसियतमा विभिन्न कार्यक्रममा भाग लिइरहेका भेटिन्छन् ।
फरकधारबाट
प्रकाशित मितिः January 20, 2019 at 2:59 pm













कर्मसञ्चार । २०७५ माघ ६ गते आइतवार