कर्णाली चिनाउन लायन्सको दोस्रो क्याविनेट सुर्खेतमा

वीरेन्द्रनगर, १५ भदौ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु नेपालको दोस्रो क्याबिनेट बैठक सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ । आउँदो कात्तिक १० गते हुने क्याबिनेटमा स्वदेश तथा विदेशका गरी २५०० जना सहभागि हुने आयोजकको दाबी छ । क्याबिनेटमा ‘हामी सेवा गर्छाैं’ भन्ने भावना भएका उद्योगी, ब्यापारी, राष्ट्रसेवक कर्मचारी, शिक्षक प्राध्यापक तथा बुद्धिजिविहरु सहभागि हुनेछन् ।

कर्णाली प्रदेशको पर्यटन, स्थानीय उत्पादनको बजारीकरण रितिरिवाज तथा संस्कृतिको आदान–प्रदान गर्न क्याबिनेट बैठक महत्वपूर्ण हुने अपेक्षा आयोजकको छ ।

क्याबिनेट सञ्चालनका लागि ७० लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको मुल आयोजक समितिका सदस्य एवं रिजन चियर पर्सन हरिहर बस्नेतले जानकारी दिए । उनका अनुसार आयतर्फ रजिस्टेशनबाट १५ लाख, विभिन्न मन्त्रालयबाट १० लाख, वीरेन्द्रनगर नगरपालिकाबाट ३ लाख, वीरेन्द्रनगर – ६ वडा कार्यालयबाट १ लाख र सहयोग संकलन तथा अन्य गरी ६ लाख रकम संकलन गरिनेछ ।
त्यस्तै व्ययतर्फ खाना/खाजामा १५ लाख, स्टेज निर्माणमा ५ लाख, सचिवालय व्यवस्थापन २ लाख, पर्यटन १० लाख, छपाई/मायाको चिनो तथा विविध गरी ३ लाख रुपैयाँ खर्च हुनेछ ।
कर्णाली प्रदेशको पर्यटन, स्थानीय उत्पादनको बजारीकरण रितिरिवाज तथा संस्कृतिको आदान–प्रदान गर्न क्याबिनेट बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको पर्यटन ब्यवस्थापन उप– समितिका संयोजक तिलकराम अधिकारीले बताए । ‘सिंगो कर्णाली प्रदेशलाई नेपाल तथा विश्वभर चिनाउन सहयोग पुग्नेछ,’ संयोजक अधिकारीले भने, ‘होटल व्यवसाय, पर्यटकीय स्थलहरुको प्रवद्र्धन तथा मानवीय सेवाको भावनालाई बढाउन क्याबिनेट बैठक कोशेढुंगा सावित हुनेछ ।’ सुर्खेतस्थित १५ वटा लायन्स क्लबको समन्वयमा क्याबिनेट स्थलमा कर्णालीका उत्पादनहरुको स्टलसमेत राखिने बताइएको छ ।
क्याबिनेट बैठकको ब्यवस्थापन गर्न धनबहादुर रावतको संयोजकत्वमा मूल समिति गठन गरिएको छ भने विभिन्न १९ वटा अन्य उप– समितिहरु बनाइएको छ ।

प्रकाशित मितिः   August 31, 2018 at 4:54 pm 


  • प्रतिक्रिया दिनुहोस्