सुदूरपश्चिम प्रदेशः मन्त्रीबाट सोडारी बर्खास्त, सुवेदीको सपथ

नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी

सुर्खेत, २७ कात्तिक ।
सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथ लिएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका छन् । मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक विकास मन्त्री सोडारीलाई पदमुक्त गरी सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् ।

सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताए । यसअघि प्रदेश इन्चार्ज रावलले मुख्यमन्त्री भट्टलाई बोलाएर सोडारीका सन्दर्भमा छलफल गरेका थिए । सोडारीको बारेमा धेरै गुनासा आएकाले उनलाई हटाइएको स्रोतले जनाएको छ । तिहारको बेला सोडारीको झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला दुर्घटना भएको थियो ।

 

 

मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी

तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारी पार्टीभित्र घनश्याम भुसाल र योगेश भट्टराई निकटस्थ मानिन्छन् । प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी दोस्रो व्यक्ति भएका छन् । यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्त भएका थिए ।

नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदी तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य थिए । उनी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । पार्टीभित्र सोडारी र सुवेदी दुवैजना माधव नेपाल पक्षका हुन् ।

प्रकाशित मितिः   November 13, 2018 at 5:41 pm 


  • प्रतिक्रिया दिनुहोस्