
सुर्खेत, ६ माघ ।
सुर्खेतबाट श्रम स्वीकृति दिन थालिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई केन्द्रित गर्दै आइतबारदेखि कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट स्वीकृति दिन थालिएको हो । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले पुन: श्रम स्वीकृतिको राहदानी दिएर सेवाको उद्घाटन गरे ।
श्रम स्वीकृतिको व्यवस्था भएसँगै संघीय राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको कार्यालय प्रमुख श्यामकृष्ण आचार्यले बताए । उनका अनुसार अब विदेशमा गएर छुट्टीमा आउनेले पुन: श्रम स्वीकृति लिएर सोही देशमा जान पाउनेछन् । ‘वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो,’ उनले भने, ‘सेवाग्राहीको भीड अत्यधिक भएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्थासमेत थियो, सुर्खेतबाट उक्त काम सुरु भएपछि सेवाग्राहीलाई खर्च र समयको बचत हुनेछ ।’ कर्णालीमा श्रम स्वीकृति सेवा सुरु भएसँगै सेवाग्राही तथा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको काम छिटो हुने र सास्ती कम हुने उनको भनाइ छ ।
प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने बताइएको छ ।
प्रकाशित मितिः January 20, 2019 at 6:20 pm























कर्म संचार । २०७५ माघ ६ गते आइतवार