काठमाडौं, १९ साउन ।
कृषि विकास मन्त्रालयले देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयको पछिल्लो अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ ।
गत वर्ष साउनको दोस्रो साता सम्म ७७ प्रतिशत मात्र रोपाइँ भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँ भएकामा यसवर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान मन्त्रालयले गरेको छ । गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेकामा अहिले करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङक छ ।

मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र निकै राम्रो रहेको बताए । उनका अनुसार सो क्षेत्रबाट धानको उत्पादकत्वमा समेत वृद्धि भई कुल उत्पादनको ७१ प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा २९ प्रतिशत उत्पादन हुने गरेको छ । मुलुकमा १५ लाख ५२ हजार हेक्टर जमीनमा धान खेती गरिन्छ ।
धान उत्पादनमा करीब १० प्रतिशतले घटबढ भएमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने तथ्यांक छ । तीन दशकयता धान उत्पादनको दर प्रतिवर्ष करीब चार प्रतिशतले वृद्धि हुने गरेको पाइएको छ । नेपालमा उत्पादन हुने धानबाट करीब ३० लाख मेट्रिक टन खानयोग्य चामल बन्ने गर्दछ । देशभर हाल चामलको माग ३८ लाख मेट्रिक टन रहेको हुँदा सो उत्पादनमा करीब आठ लाख मेट्रिक टन चामल अपुग हुने गर्दछ । गतवर्ष करीब २६ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको मन्त्रालयको तथ्याङक छ ।
प्रकाशित मितिः August 4, 2018 at 7:36 pm


कर्मसञ्चार । २०७५ साउन १९ गते शनिवार