
सुर्खेत – २५ पुस ।
केही दिन पहिले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले राउटे समुदायलाई तामझामका साथ न्यानो कपडा वितरण ग¥यो । राउटे बस्तीमा कोट लगायतका न्यानो कपडा वितरण गर्न ८ लाख रुपैयाँ खर्च भयो । राउटेले कोट लगाएको तस्विर सामाजिक सञ्जालमा भाइरल बन्यो ।
सरकारले राउटेलाई कोट वितरण गरेपछि उनीहरुको मौलिकता र सामाजिकीकरणबारे विभिन्न टिकाटिप्पणी समेत भए । तर, राउटेलाई कोट वितरण गरेर मन्त्रालयका कर्मचारी वीरेन्द्रनगर पुग्न नपाउँदै राउटे गाउँ पसे । सरकारले दिएको कोट लगायतका न्यानो कपडा सस्तोमा विक्री गरे । त्यही पैसाले रक्सी किनेर खाए ।
हाल लेकवेशी नगरपालिका–१ थोत्रीखोलामा रहेको राउटे बस्तीमा कोट, न्यानो कपडा र स्वास्थ्य शिविर सञ्चालन गर्न झन्डै ८ लाख रुपैयाँ खर्च भएको मन्त्रालयका सचिव मानबहादुर विकले बताए । तर, राउटेले पाएको कोट, कम्बल र अन्य लत्ताकपडा सबै बिक्री गरिसकेको पाइएको लेकवेशी नगरपालिका प्रमुख गगनसिंह सुनारले जानकारी दिए । ‘राउटे समुदायमा पर्याप्त सामग्री आएपनि उनीहरूले रक्सी किन्न सबै सामग्री बिक्री गरिरहेको पाइएको छ,’ नगर प्रमुख सुनारले भने ।
राउटे बस्तीमा दैनिकजसो सहयोग गर्नेको भीड लाग्ने गर्छ । तर, सहयोग गरिएको सामग्री प्रयोग नगरेर राउटेले रक्सीसँग साट्ने गरेका छन् । ‘राउटे समुदायलाई दिइएको न्यानो कपडा, खाद्य, कम्बलहरू १–२ दिनमै बस्तीमा पाउन मुस्किल भइरहेको छ,’ नगर प्रमुख सुनारले भने, ‘त्यस्तो नगर्न बारम्बार भनेपनि उनीहरूले विक्री गर्न छाडेका छैनन् ।’ स्थानीय वासिन्दालाई राउटे समुदायबाट सामान नकिन्न आग्रह गरिरहेको उनले बताए । ‘हामीले स्थानीयलाई राउटे समुदायबाट काठका भाँडाबाहेक अन्य केही पनि खरिद नगर्न भनेका छौं,’ उनले भने ।

सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट राउटेहरूले केही घण्टामा रक्सी खान बिक्री गरेका छन् । ‘कोट बिक्री भएको पाइएको छ । जुत्ता पनि बेचेका छन् । चामलबाहेक अन्य चिज बिक्री गरेका छन्,’ लेकवेशी नगरपालिकाका कार्यपालिका सदस्य धनसरा सुनारले भनिन्, ‘जुत्तालाई २ सयमा बिक्री गरेको, १–२ बोत्तल मदिरामा पनि बिक्री गरेका छन् । वडाध्यक्षले किन्नेलाई कारवाही गर्ने भनेपनि उनीहरूले गाउँ–गाउँमा गएर बेच्ने गरेको पाइएको छ ।’
घुम्दै–फिर्दै हिँड्ने राउटे अहिले सुर्खेतको लेकवेशी नगरपालिकामा छन् । फिरन्ते जीवनपद्धति अपनाउने यो समुदायका अधिकांश रक्सीको लतमा परेका छन् ।
प्रकाशित मितिः January 9, 2019 at 7:24 pm


कर्मसञ्चार । २०७५ पुष २५ गते बुधवार