
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले पाँच वर्षे रणनीतिक योजना बनाउने तयारी थालेको छ । सोमवार केन्द्रीय कार्यालयमा बसेको विश्वविद्यालय रणनीतिक योजना निर्माण समितिको दोस्रो बैठकले योजनाको ‘फ्रेमवर्क’ तयार पार्ने निर्णय गरेको छ । विश्वविद्यालय समयसापेक्ष, वैज्ञानिक एवम् वस्तुवादी योजना निर्माणमा जुटेको हो । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले विश्वविद्यालय स्थापनाको मूलभूत उद्देश्य पूरा हुनेगरी योजनाबद्ध रूपमा अघि बढ्न लागिएको बताए । पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजकसमेत रहेका खड्काका अनुसार एमयूले अब समयको मागलाई सम्बोधन गर्ने अस्त्रका रूपमा वैज्ञानिक एवम् वस्तुवादी योजना निर्माण गर्नेछ ।
रणनीतिक योजना निर्माण समितिको बैठकमा विज्ञ सदस्यका रूपमा राय राख्दै योजना विकास तथा अनुगमन निर्देशनालयका पूर्व कार्यकारी निर्देशक प्रा.डा.चन्द्रप्रसाद रिजालले विगतमा भएका प्रयासको समीक्षासहित भावी योजनाका सन्दर्भमा सुझाव दिए । बैठकमा सहभागी समितिका सदस्य कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्यसमेत रहिसकेका उपप्राध्यापक ऋषि खनाल, उपप्राध्यापक डा. रेशमबहादुर बिष्ट र उपप्राध्यापक डा. प्रेमकुमारी ढकाल, उपप्राध्यापक डा. अनुप बस्नेत क्षेत्री, उपप्राध्यापक ललितजंग शाही, उपप्राध्यापक कमलराज लम्साल र उपप्राध्यापक अनिल गुरुङले आ–आफ्नो सुझाव राखेका थिए । उनीहरूले विशेषज्ञताको क्षेत्रका आधारमा राय प्रस्तुत गर्दै विश्वविद्यालयको समग्र योजना निर्माणमा जुट्ने प्रतिबद्धतासमेत ब्यक्त गरे ।
प्रकाशित मितिः September 2, 2025 at 9:41 am


कर्मसञ्चार । २०८२ भाद्र १७ गते मंगलवार