पूर्वप्रधानमन्त्री गिरीको निधन

सुर्खेत, ३ पुस ।

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ। ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठमा मंगलबार बिहान निधन भएको हो। गिरी लामो समयदेखि राेगले थलिएका थिए। कलेजोको क्यान्सरबाट पीडित गिरीलाई साेमबार मात्र मेडिसिटी अस्पतालबाट निजी निवास लगिएको थियो ।

२०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था सुरु गरेपछि गिरी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष भएका थिए। पञ्चयती व्यवस्थामा गिरी प्रधानमन्त्री भएका थिए। ०१७ सालअघि गिरी कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए।

राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछि गिरी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष भएका थिए। उनी नेपालमा पञ्चायती व्यवस्थाका जननी मानिन्छन्। गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने बताइएकाे छ। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मितिः   December 18, 2018 at 11:35 am 


  • प्रतिक्रिया दिनुहोस्