शहिद स्मृतिमा सप्ताहव्यापी कार्यक्रम हुँदै

सुर्खेत, १८ साउन ।
कर्णाली प्रदेश स्थापनाका लागि शहादत प्राप्त गरेका शहिदहरुको सम्झनामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिने भएको छ । शहिद यामबहादुर बिसीको नामबाट सञ्चालित ‘याम बिसी स्मृति प्रतिष्ठान’ले शहिदहरुको सम्झनामा सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो । प्रतिष्ठान सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन १९ गते बिहान ७ बजे पिपलचौतारीमा रक्तदान कार्यक्रम गर्ने जनाएको छ ।

त्यस्तै, साउन २० गते क्षेत्रीय अस्पताल कालागाउँलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गर्ने, २१ गते देउती बज्यै सामुदायिक वनको चारकुनेमा बृक्षारोपण, २२ गते शहिद याम बहादुर बिसीको पिताको नीजि निवासमा दृष्टिबिहिनहरुलाई भोजन, २३ गते अमरज्योति मावि नेवारेमा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता, २४ गते कृष्ण संस्कृत साधारण मावि इत्राममा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने बताइएको छ ।

साउन २५ गते जिल्ला समन्व समितिको सभाहलमा तेस्रो शहिद स्मृति दिवस मनाउने कार्यक्रम रहेको प्रतिष्ठानका सचिव भगवती विसीले जानकारी दिइन् । नेपाललाई संघीय संरचनामा लैजाने क्रममा सिमाङ्कन गर्दा तत्कालिन मध्यपश्चिमलाई सुदुरपश्चिममा गाभेर यस क्षेत्रका जनताप्रति सरकारले अन्याय गरेको भन्दै छुट्टै प्रदेशको आन्दोलन भएको थियो ।

उक्त आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजवार तथा जुम्लाका हरिबहादुर कँुवरले ज्यान गुमाएका थिए । नेपाल सरकारले उनीहरुलाई शहिद घोषणा गरेपनि त्यो भन्दा अरु केही गर्न नसकेको शहिद परिवारहरुको गुनासो छ ।

प्रकाशित मितिः   August 3, 2018 at 7:27 pm 


  • प्रतिक्रिया दिनुहोस्