काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् ।
छत्तीसौँ बिपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बिपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए ।
आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उनका माग सम्बोधन गर्न तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीका विचारबाट पार्टी विचलित नभएको स्पष्ट पार्दै भने, “बिपीले परिकल्पना गरेअनुसार संविधानसभाबाट संविधान जारी भएको र ग्रामीण क्षेत्रको विकासका लागि २०४८ सालयता काँग्रेसले विभिन्न कार्यक्रम अघि बढाएको छ ।”
प्रकाशित मितिः July 23, 2018 at 6:25 am













कर्म संचार । २०७५ साउन ७ गते सोमवार