‘सम्बन्ध विच्छेद’ को अलग परिभाषा, जो सामाजिक सञ्जालमा भाइरल बन्यो


सुर्खेत, २१ मंसिर ।
वैवाहिक सम्बन्ध जोडिनुलाई नयाँ जीवनको शुरुवात ठानिन्छ । यसलाई खुसीयालीको अवसर मानिन्छ । त्यही वैवाहिक जीवनमा केही दम्पतिहरूको खुसियालीमा चिसोपना उत्पन्नभई अन्ततः बीचमा नै अदालतको कोठाभित्र कानूनी रुपमा टुङ्गिनुलाई सम्बन्ध विच्छेद भनिन्छ ।

नेपाली समाजमा सम्बन्ध विच्छेदपछि एक अर्कालाई भेट्नु त के पूर्वपति वा पत्नीको बारेमा सुन्नसमेत चाहादैनन् । सम्बन्ध विच्छेद दाम्पत्य सम्बन्धमा सकस उत्पन्न भएर नै हुने हो । तर, एक यस्तो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ, जो सम्बन्ध विच्छेद पछिको वार्षिक उत्सवका रुपमा !

लेखक एवं साहित्यकार सरस्वती प्रतिक्षाले आफूहरुको सम्बन्ध विच्छेदको तीन वर्ष पुगेको अवसरमा पूर्वपति ठाकुर प्रसाद पन्तसँगै लन्च गरेको तस्वीर सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर अपलोड गर्दै लेखेकी छन्,– ‘सम्बन्ध विच्छेद गरेको आजबाट ठिक तीन वर्ष पूरा भएर चार वर्ष लागेको उपलक्ष्यमा ठाकुरजीसँग भेटेर लन्च गरियो । सम्बन्ध विच्छेदपछि आ–आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो । सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध विच्छेद समेत एक उत्सव बनिदिदो रहेछ ।’

प्रतिक्षाले सार्वजनिक गरेको तस्वीर र उनले अथ्र्याएको ‘सम्बन्ध विच्छेद’को परिभाषाले बैवाहिक जीवनबाट अलग भएर पनि एक अर्काको हित चिताउन सकिन्छ भन्ने सन्देश दिएको छ । सम्बन्ध विच्छेदको मुख्य कारण नै श्रीमान श्रीमतीबीचको वेमेल र असमझदारी हो । तर, उनले अलग–अलग हुँदा पनि आफूले बाँचिरहेको जीवनबारे एक अर्कालाई भेटेर सुनाउँदै सेलिब्रेट गर्न सकिने सकारात्मक र बलियो तर्क दिएकी छन् । नेपाली साहित्यमा कविको रुपमा परिचित सरस्वती प्रतिक्षा चर्चित उपन्यास ‘नथिया’ का लेखक हुन् ।

प्रकाशित मितिः   December 7, 2018 at 11:43 am 


  • प्रतिक्रिया दिनुहोस्