सुर्खेत, १७ साउन ।
सामान्यतया कार्यक्रम उद्घाटनका लागि बोलाइएका प्रमुख अतिथि समापनपछि आयोजकसँग विदा मागेर जाने चलन छ । तर, सोमबार भने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा फरक दृश्य देखियो ।
संसदीय पत्रकार समाज कर्णाली प्रदेशले बिहीबार प्रदेश राजधानीमा कार्यरत पत्रकारका लागि संसदीय मामिला रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि तालिम दिँदै थियो । तालिम उद्घाटनसत्रमा प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए–कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही ।
आयोजकले निर्धारण गरेको समयभन्दा आधा घण्टा ढिलो कार्यक्रम उद्घाटन भयो । तीनदिने तालिमको ब्यानर पढेर सभामुख शाहीले तालिम उद्घाटन गरे । आयोजकको अनुरोधमा मन्तव्य पनि राखे । उद्घाटनसत्र सकिएपछि धेरै सहभागि पत्रकारहरुलाई लागेको थियो–सभामुख अब जान्छन् होला । तर, सभामुख शाही भने स्टेजबाट झरेर तालिमका सहभागिसँगै बसे ।

सहभागिलाई हौसल दिन यसो गरेका होलान, धेरैले यस्तै अड्कल काटे । हुनत उनले मन्तव्य दिने क्रममा भनेका थिए, म एकछिन तपाइँहरुसँगै तालिममा बस्नेछु । उनी एकछिन होइन तालिम अवधिभर त्यहीँ बसे । संसदभित्रका खिस्सा सुनाए । पत्रकारका रिपोर्टिङ अनुभव सुने । पहिलो दिनका लागि विहान साढे ११ बजे शुरु भएको तालिम ४ बजे सकियो । तालिम सकिएपछि पनि केही समय प्रशिक्षक र सहभागिसँग गफिएर मात्रै उनी त्यहाँबाट निस्किए ।
तालिमको प्रकृतिसँग सभामुखको अलिअलि साइनो पक्कै थियो । किनकी संसदीय रिपोटिङबारेको तालिम थियो । सभामुखको हैसियतले उनीले उद्घाटन गरेर मन्तव्य समेत दिइसकेका थिए । तर, उनलाई तालिम नै लिनुपर्ने मोह किन जाग्यो । र, पत्रकारका लागि दिइएको संसदीय मामिला रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि तालिम लिए ?
यो दृश्य हेर्दा सामान्य लागेपनि आफ्नो पदीय मर्यादा, गरिमाप्रति पूर्णत जानकार र सचेत रहनुपर्ने सभामुख नै पत्रकारको तालिममा सहभागि सरह बसिरहन किन बाध्य भए होलान ? उनी मन्तव्यकै क्रममा भन्दै थिए– ‘म धेरै भाषणभन्दा काममा विश्वास गर्छु ।’ तर, पत्रकारको तालिममा बसेर आफ्नो समय बर्बाद भएको भने उनले पत्तो पाएनन् । यसले उनको समय बर्बाद त भयो नै, सभामुख नै तालिममा बसेपछि सहभागिले समेत असहज अनुभव गरे ।
उद्घाटनमा पत्रकारका नेताहरू पनि उपस्थित थिए । उनीहरू भने तालिममा बसेनन् । उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा पुगेका सभामुखले सहभागि पत्रकारसँगै तालिम लिए । एउटा सामान्य कार्यक्रममा प्रदेश सरकारको सिंगो मन्त्रीमण्डल सहभागि हुने र भाषण ठोक्ने दृश्य नौलो नभए पनि सभामुखको यो ‘तालिम मोह’ भने नौलो नै हो ।
प्रकाशित मितिः August 2, 2018 at 9:27 pm























कर्मसञ्चार । २०७५ साउन १७ गते बिहीवार