
फोटोमा क्रमशः मुख्यमन्त्री, उहाँकी पत्नी, कानुन मन्त्री, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख र उपप्रमुख ।
सुर्खेत, १५ कात्तिक ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दैनिकी प्रायःजसो औपचारिक कार्यक्रमहरूमा नै बित्छ । मुख्यमन्त्रीको नियमित काम, मन्त्रीपरिषद् बैठक, संसद बैठक, अनुगमन, भ्रमणलगायत विभिन्न निकायसँग औपचारिक/अनौपचारिक भेटघाटमा ब्यस्त रहनुपर्छ । यतिहुँदाहुँदै पनि उनले सरसफाई कार्यक्रममा पुगेर फोहोर उठाउनेदेखि हलमा गएर सिनेमा हेर्नेसम्मको समय व्यवस्थापन गरिरहेका छन् ।
मुख्यमन्त्री शाही बिहीवार पत्नी चन्दाकुमारी शाहीलाई लिएर चलचित्र हलमा पुगे । ‘मालिका’ फिल्म पुरै हेरे । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित लक्ष्मी चलचित्र हलमा उनका फिल्म हेर्ने साथी बने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसँगै स्थानीय तहका प्रमुख /उपप्रमुखहरू ।

हलबाहिर निस्केपछि शाहीले फिल्मको विषयवस्तु मन परेको प्रतिक्रिया दिए । सामाजिक कथा वस्तुका चलचित्रले हरेक नागरिकमा सकारात्मक उर्जा पैदा गर्ने भन्दै मुख्यमन्त्री शाहीले ‘मालिका’ फिल्मको प्रशंसासमेत गरे । महिलाहरू कमजोर छन् भन्ने मानसिकता हटाउन ‘मालिका’ले थालेको अभियानमा सबैले साथ दिनुपर्ने उनले औंल्याए ।
अभिनेत्री रेखा थापाले निर्माण गरेको ‘मालिका’ चलचित्रमा नारी उत्पीडनका कथावस्तुु समेटिएको छ । जीवन रूपान्तरण तथा सकारात्मक सोचका प्रशिक्षक नरबहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’को विषयवस्तु महिला हिंसा र बालविवाहमुक्त नेपाल निर्माण गर्न ‘छोरीका लागि स्वर्णिम महाअभियान’ मा केन्द्रित छ । राजनीतिक दल र सरकारका उच्च ओहोदाका व्यक्तिले हलमा पुगेर सिनेमा हेरेको कर्णाली प्रदेशमै यो पहिलो पटक हो ।
प्रकाशित मितिः November 1, 2018 at 5:05 pm


कर्मसञ्चार । २०७५ कार्तिक १५ गते बिहीवार