काठमाडौं, ८ असोज ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल अब छिट्टै भारतमा विलय हुने दिशामा अघि बढेको बताएका छन् । केसीले अंगिकृत नागरिकका सन्तानहरुले सजिलै वंशजको नागरिकता पाउने व्यवस्थाले नेपाल छिट्टै भारतमा विलय हुने अवस्थामा पुगेको जिकिर गरे ।
काठमाडौंमा आयोजित ‘राष्ट्रिय हित विपरितको नागरिकता विधेयक स्थगन गर्ने र सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गर्ने’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
‘अंगिकृत नागरिकता लिनेमा अधिकांश भारतबाट नेपाल छिरेकाहरु छन्’, नेपालको कर्मचारीतन्त्र पनि बाह्य शक्तिको प्रभावमा आफ्नो दुनो सोझ्याउनेतर्फ मात्र केन्द्रित भएको उनको आरोप थियो ।
अवैध तरिकाले नागरिकता लिएकाहरुको नागरिकता खारेज गर्नका लागि शक्तिशाली आयोग बनाउनुपर्ने खाँचो रहेको पनि उनले औँल्याए । ‘अहिलेसम्म अवैधानिक तरिकाले नागरिकता पाउनै नहुने मान्छेले नेपाली नागरिकता पाएका छन्’, देशलाई डामाडोल पार्नेहरुको षड्यन्त्रको विरोधमा सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता आइपरेको उनले बताए । ‘देश बचाउनु पर्ने भन्दै उनले भने, ‘देश रहे मात्रै हामी रहूँला ।’
प्रकाशित मितिः September 24, 2018 at 7:22 pm






कर्म संचार । २०७५ असोज ८ गते सोमवार