सुर्खेत, १५ साउन ।
दैलेख चामुन्डाविन्द्रासैनी नगरपालिका –२ की भावना विक पाँच वर्षअघि ६ कक्षा पढ्दै थिइन् । उमेरले भर्खर १३ वर्षमा टेकेकी । आठ भाइबहीनी मध्येकी कान्छी भावनालाई छिमेकी गाउँको केटाको घरबाट बिहेको प्रस्ताव आयो ।
‘राम्रो घरबाट कान्छीको हात माग्न आएका छन्, दिने त होला ?’ बुवाले आमासंग गरेको संवाद सुनिन् । आमाको काखमा खेल्ने उमेरमा बिहेको कुरा चलेपछि उनी छांगाबाट खसेझै भइन् । ‘म अहिल्यै विहे गर्दिन, धेरै पढेर ठूलो मान्छे बन्नुछ,’ भावनाले बुवालाई भनिन् । ‘तलाइँ हामी पढाउन सक्दैनौं, छोरीको जात समयमै बिहे गरेर अरुको घर गरिखानुपर्छ अटेर नगर,’ भावनालाई बुवाले हपारे ।
बारम्बार बिहेका लागि दबाब आयो । तर, भावनाले बरु आफू मर्न तयार छु बिहे गर्दिन भनेरै अड्डी कसिरहिन । बुवा आमाको मन न हो भावनालाई नाइनास्ति गर्न सकेनन् । मन पग्लियो । विवाह रोकियो ।
दुई वर्षपछि फेरि विवाह गर्नुपर्ने प्रस्ताव आयो । कक्षा ८ मा पढ्ने भावना बिहे कहिले गर्ने भन्नेबारे बुझ्ने भइसकेकी थिइन् । यसपटक उनले अभिभावकलाई सम्झाईन् । आफ्नो बिहे आफै रोकिन ।
अब भावनाको बिहे मात्रै रोकिएन पढाइ पनि रोकिने भयो । आफूहरुले भनेको नमानेपछि अभिभावकले पनि भनिदिए– जे मन लाग्छ गर, हामी तेरालागी केही गर्नेवाला छैनौं ।’ दैनिकजसो परिवारको तनाव खेपेर उनले जेनतेन एसएलसी पास गरिन् । ‘एसएलसी पास भइस्, अब त बिहे गर्नैपर्छ । बिहे गर्न घरबाट निकै दबाब आयो –‘अझै जिद्दी गर्नेभए जता जान्छेस् जा ।’ परिवारले भावनालाई धम्की दिए । उर्दि लगाए ।
‘उच्च शिक्षा हासिल गर्ने मनमा हुटहुटी थियो, ११ कक्षा पढ्न घर नजिक विद्यालय थिएन,’ भावनाले सुनाइन्, ‘म घरबाट भागेर सुर्खेत आए, घर छोडेको दुई वर्ष भयो ।’
अहिले उनी कक्षा १२ मा पढ्छिन् । दाई (ठूलो वुवाको छोरा) र नवज्योति केन्द्रले उनको पढाइमा सहयोग गरेका छन् । युथ फर चिल्ड्रेनले वीरेन्द्रनगर आयोजना गरेको बालविवाह अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रममा बोल्दै भावनाले भनिन्,’ दुःख गरेर पढ्दै छुँ । पढाइ सिध्याएपछि जागिर खाएरमात्रै बिहे गर्ने सोचमा छुँ ।’
भावनाजस्तै आफ्नो बालविवाह आप्mनै पहलमा रोक्ने किशोरकिशोरी धेरै छन् । जसले आफ्नो सून्दर भविष्य आफै कोरिरहेका छन् । नेपालको कानुनमा २० वर्षमुनिको विवाहलाई अवैध मानिन्छ । पछिल्लो समय शिक्षित र सम्पन्न परिवारमा यस्तो चलन केही घटेपनि अधिकांशमा उस्तै छ । बालविवाह गर्दा मुख्यगरी किशोरीहरुको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । सुर्खेत अन्य जिल्लाहरुको तुलनामा बालबिवाह धेरै हुने जिल्लामा पर्छ । अरूको पहलमा मात्रै यो सम्भव नभएपछि बालबालिका आपंैm सञ्जाल बनाएर अघि बढेका छन् । ‘बालविवाह रोक्नमात्रै होइन, किशोरावस्थामा देखिने समस्यासम्बन्धी कुरा राख्न र समाधान गर्न पनि निकै सजिलो भएको छ,’ आशा सञ्जाल सुर्खेतका अध्यक्ष अमर विश्वकर्माले भने, ‘किशोरकिशोरी आफंैले विवाह रोक्न र यसविरुद्ध वकालत गर्न थालेपछि बालविवाह न्यूनीकरण हुँदै गएको छ ।’
कानुनले बालविवाहलाई पूर्ण निषेध गरेको भएपनि बालविवाह समाजमा अझै चुनौतीको रुपमा रहेको युवा अभियान्ता सजना सुनारले बताइन् । ‘बालक्लब तथा किशोरकिशोरी सञ्जालमा आवद्ध किशोरकिशोरी जुटेर समाजमा हुने बालविवाह रोकिने गरेका छन्, यति मात्र पर्याप्त छैन,’ सजनाले भनिन्, ‘सरकारी निकायले बालबिवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाएर अघि बढे मात्रै बालविवाह निरुत्साहित गर्न सकिन्छ ।’ बालविवाहले गर्दा व्यक्तीको स्वतन्त्रतामा कमी आउने र कम उमेरमा विवाह गर्नु कानुन विपरित तथा स्वास्थ्यका दृष्टिले समेत जोखिमपूर्ण मानिन्छ । बालविवाहले सवल, सक्षम र स्वाभिमानी बन्नमा बाधा पु¥याउँने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । ऐनमा बालविवाहलाई पूर्ण निषेध गरिएको भएपनि व्यावहारिक जीवनमा भने त्यसले पूर्णता पाउन नसकेको बालबालिकाका क्षेत्रमा वकालत गर्ने अधिकारकर्मीहरुले बताउने गरेका छन् ।
नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०६८ का अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरीको १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ भने तीमध्ये करिब साढे ५ लाख किशोरीहरु १९ वर्ष अगावै आमा बन्ने गरेका छन् । नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिवद्धता गरी बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरेको छ । बालबालिकाको अधिकारका लागि काम गर्ने सरकारी र गैरसरकारी संघ–संस्था धेरै छन् । कानूनले पनि बालअधिकारलाई प्रशस्त संरक्षण गरेको छ । यति हुँदाहुँदै पनि बालविवाह न्यूनीकरणमा चुनौती थपिदै गएको छ ।
प्रकाशित मितिः July 31, 2018 at 1:52 pm













कर्मसञ्चार । २०७५ साउन १५ गते मंगलवार