काठमाडौ, ४ भदौ।
गत वर्ष निर्वाचनमा पराजित नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमको सांसद बन्ने सपना पूरा नहुने भएको छ । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली नै अनिच्छुक रहेको निष्कर्ष गौतमले आफ्ना कार्यकर्तालाई सुनाउन थालेका छन् ।
डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बूढाले तपाईंका लागि राजीनामा दिन्छु भन्दै गौतमको कोटाबाट राज्यमन्त्री खाएका थिए । तर, स्रोतका अनुसार अध्यक्ष ओलीले बालुवाटार बोलाएर उनलाई के कारणले राजीनामा दिन थाल्नुभयो, कसले राजीनामा दिन भन्यो भन्नेजस्ता प्रश्न गरेपछि बुढा पछि हटेका छन् । बहानाका लागि उनले जिल्ला पुगेर कार्यकर्तासँग सल्लाह गरेको, जिल्ला सदरमुकाममा केन्द्र कहाँ राख्ने भन्नेबारे भइरहेको विवादले जनमत प्रतिकूल रहेको जस्ता कारण अघि सारे पनि पछि राष्ट्रिय सभा सदस्य र मन्त्री दिने गौतमको प्रस्ताव कार्यान्वयन नहुने चाल पाएपछि उनी पछि हटेका हुन् ।
गौतमलाई सांसद बनाएर पूर्वएमालेभित्र चलखेल गर्न सकिन्छ कि भन्ने योजना नेकपाका अध्यक्ष पुष्पकमल दाहालको हो । दाहालले प्रधानमन्त्रीका लागि गौतमलाई सहयोग गर्छु भन्ने उधारो आश्वासन दिएका कारण उत्साहित बनेका गौतम पछिल्ला घटनाक्रमहरूबाट निराश बनेका छन् ।
आफ्नो इच्छा कार्यान्वयन गर्न गौतमले महासचिव विष्णु पौडेलमाथि दबाब दिइरहेका छन् । बाँके ३ का सांसद नन्दलाल रोकायलाई राजीनामा दिलाउने प्रयास त्यसैको परिणाम भए पनि गौतमका लागि त्यो पनि प्रत्युत्पादक साबित भएको छ । दैलेख १ का सांसद रवीन्द्रराज शर्माले आफू राजीनामा दिन इच्छुक रहेको जानकारी कुनै समयमा गौतमलाई दिए पनि अहिले उक्त समाचार सार्वजनिक भएपछि उनको भागभाग भएको छ । रुकुम पूर्वकी कमला रोकाले सार्वजनिक रूपमै कडा प्रतिवाद गरिसकेकी छन् ।
यी सबै घटनाक्रमपछि गौतमको सांसद बन्ने सपना पूरा नहुने र उनको बेइज्जत मात्रै भएको टिप्पणी नेकपावृत्तमा भइरहेको छ । निर्वाचनमा हारेपछि पाँच वर्ष जनमतको सम्मान गरेर बस्नुपर्नेमा गौतमले किन रहर गरेका हुन् भन्ने प्रश्नमै अध्यक्ष ओलीको चासो रहेको बताइन्छ । हालै आयोजित सचिवालय बैठकमा आफ्ना लागि धनबहादुर बुढा, कमला रोक्का, नन्दलाल रोकाय, रवीन्द्रराज शर्मा आदि छाड्न तयार रहे पनि पार्टीले निर्णय नगरिदिएको गौतमले गुनासो गरेपछि अध्यक्ष ओलीले उनलाई उडाउँदै भनेका थिए, ‘वामदेव कमरेडका लागि छाड्ने मान्छेको कमी कहाँ छ र तपाईंका लागि मै झापा–५ छाड्न तयार छु ।
खासमा गौतमलाई सांसद बनाएर पूर्वएमालेभित्र चलखेल गर्न सकिन्छ कि भन्ने योजना नेकपाका अध्यक्ष पुष्पकमल दाहालको हो । दाहालले प्रधानमन्त्रीका लागि गौतमलाई सहयोग गर्छु भन्ने उधारो आश्वासन दिएका कारण उत्साहित बनेका गौतम पछिल्ला घटनाक्रमहरूबाट निराश बनेका छन् ।
वरिष्ठ नेता माधव नेपालले पनि सधैंभरि गौतमलाई किन चिढ्याउने भन्दै मौनता साँधेको अवस्थामा आफूलाई सांसद बन्न सजिलो हुने भन्दै उनले जोड दिँदै आएका छन् । तर, कार्यकर्ता पंक्तिमा चाहिँ आफ्ना लागि प¥यो भने नेताहरू जतिसम्म पनि गर्न तयार हुन्छन् भन्ने रूपमा यस घटनालाई लिइँदा गौतमको झन् आलोचना भइरहेको छ । उनी दुई पार्टीको मत जोड्दा करिब ३० हजारले अघि रहेको बर्दिया १ बाट गत निर्वाचनमा पराजित भएका थिए । त्यहाँ अध्यक्ष ओलीनिकट नेताहरूले आफूलाई हराएको आरोप गौतमले लगाउँदै आएका छन् ।
पहिलोन्यूजबाट
प्रकाशित मितिः September 20, 2018 at 6:23 pm


कर्मसञ्चार । २०७५ असोज ४ गते बिहीवार