
सुर्खेत, ३ असोज ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीस हरिकुमार पोखरेलले न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण कानुनी काम कारबाहीमा समस्या हुने गरेको बताएका छन् । पब्लिक एकेडेमी माध्यमिक विद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कानुन संकायका विद्यार्थीलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीस पोखरेलले यस्तो बताएका हुन् ।
उनले विगतदेखि नै कानुन पढेका जनशक्ति अभाव भएकै कारण कानुनी काम कारबाहीमा बाधा अड्चन थपिँदै आएको बताए । ‘नेपालमा अँझै पनि कानुन पढेका जनशक्तिको अभाव छ, अभावकै बीचमा न्यायिक निकायले न्याय सम्पादन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आवश्यकताअनुसार जनशक्ति नहुँदा न्यायिक निर्णयमा ढिलाई हुने, कामको चाप बढ्ने जस्ता समस्याहरु यथावतछन् ।’ कर्णालीमा पहिलोपटक माध्यमिक तहमा कानुन विषय अध्यापन हुन लागेकोमा खुशी व्यक्त गर्दै उनले अभाव रहेको दक्ष जनशक्ति अब कर्णालीबाटै पूर्ति हुनुपर्ने बताए ।
विद्यार्थीलाई कानुन अध्यनमा स्वागत गर्दै उनले किताबी ज्ञानका साथै व्यवहारिक ज्ञानपनि हासिल गर्न आवश्यक रहेको औंल्याए । शिक्षक, विद्यार्थी र पाठ्यक्रमको सही तालमेल मिलेमा मात्र अपेक्षाकृत जनशक्ति उत्पादन हुने उनको भनाइ थियो । ‘हामीलाई विगतदेखि नै के भयो भन्ने विषयमा मात्रै अधुरो पढाउँदै आइयो, यस्तो शिक्षा प्रणालीले कहिले पनि हामीले कुनैपनि घटना हुनुको खास कारण जान्ने मौका पाएनौं’ उनले थपे, ‘विद्यार्थीलाई विषयवस्तुको गहिराई बुझाउन सक्नुपर्दछ, नत्र औपचारिक अध्ययनमा मात्रै सिमित रहन्छ ।’

कार्यक्रममा सहभागी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपछि प्रा.डा. उपेन्द्रकुमार कोइरालाले माध्यमिक तहमा कानुनको अध्यापन सुरु गरेकोमा खुसी व्यक्त गरे । उनले विश्वविद्यालयमासमेत कानुन विषयमा स्नातक तहको अध्ययन सुरु गरेकोले आगामी दिनमा कानुनका विद्यार्थी पूर्ति गर्न एक अर्काबीचमा समन्वयकारी भूमिका रहने बताए । कानुन व्यवसायी समाज र सभ्यताको रक्षक भएको भन्दै उनले भने, ‘संसारमा दुईवटा कोट निकै महत्वपूर्ण छ, कालो कोट र सेतो कोट । सेतो कोटले मानिसको जीवन रक्षा गर्दछ भने कालो कोटले समाज र सभ्यताको रक्षा गर्दछ ।’
यस्तै प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले कानुन विषय अरुभन्दा जटिल भएकाले अप्ठेरो परेका समयमा न्यायिक निकाय र कानुन व्यवसायीहरुको सहयोग लिएर अगाडि बढ्न सुझाव दिए । आवश्यक परेको बेला आफुहरु जस्तो सुकै सहयोग गर्नपनि तयार रहेकोले विद्यार्थीलाई पास हुने भन्दा पनि अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धा गर्न लायक बनाउनुपर्ने उनको भनाइ थियो । यस्तै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले पहिलो पटक माध्यमिक तहमा कानुन अध्यापन गराई राम्रो कामको सुरुवात गरेकोले जनप्रतिनिधिका हैसियतले हुने सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । उनले व्यवसायिकताका नाममा मानवियता हराउँदै गएका बेला मानवियताको रक्षा गर्ने कानुन व्यवसायी उत्पादन गर्न विद्यालय संचालकहरुलाई सुझाव समेत दिए ।

विद्यालयका संचालक तथा प्रिन्सिपल दिपेन्द्रराज खनालले धेरै प्रयासका बाबजुत कानुन विषय अध्यापन गराउन मौका मिलेकाले कुनैपनि हालतमा विद्यार्थीको गुणस्तर उत्कृष्ट बनाउनेमा प्रतिबद्ध रहने बताए ।
न्यायिक निकाय, माथिल्लो तहको अध्यापन हुने विश्वविद्यालय र कानुन व्यवसायीहरुसँगको समन्वयमा नै पढाईलाई मजबुत बनाउने उनको भनाइ थियो ।
प्रकाशित मितिः September 19, 2018 at 6:03 pm


कर्मसञ्चार । २०७५ असोज ३ गते बुधवार