वीरेन्द्रनगर, १२ भदौ ।
नेपाल प्रहरीले आफ्ना युनिटहरूलाई प्रादेशिक संरचनामा रूपान्तरण गर्ने प्रक्रिया थालेको छ । प्रदेश राजधानी सुर्खेत कायम भएसँगै प्रहरीले यहाँ आफ्ना आधा दर्जन संरचना निर्माण गर्न लागेको हो ।
क्षेत्रीय अवधारणाअनुसार नेपालगन्जमा रहेका कार्यालयहरू सुर्खेतमा सार्न थालिएको छ । प्रदेश प्रहरी कार्यालय र गण यसअघि नै वीरेन्द्रनगरमा स्थापना भइसकेका छन् । पूर्वी सुर्खेतको छिन्चुमा कर्णाली ट्राफिक प्रहरी कार्यालय, प्रहरी तालिम केन्द्र र नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालय स्थापना गरिनेछ । ट्राफिक कार्यालय कोहलपुरबाट र तालिम केन्द्र नेपालगन्जबाट स्थानान्तरण हुनेछन् । विद्यालय नयाँ स्थापना हुन लागेको हो ।
प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मोहन आचार्यले आवश्यक संरचनाका लागि जग्गा खोजी गर्ने काम भइरहेको बताए । उनका अनुसार तत्काललाई जिल्ला ट्राफिक कार्यालयबाटै प्रदेश ट्राफिक कार्यालय सञ्चालन गरिनेछ । नेपालगन्जमा रहेका दंगा नियन्त्रण प्रहरी गण र भेरी अञ्चल प्रहरी कार्यालय संघीय प्रहरी इकाईमा रूपान्तरण भएर स्थापना हुने क्रममा छन् ।
वीरेन्द्रनगरमा प्रहरीको कुकुर शाखादेखि ब्यान्ड गुल्मसम्म रहनेछ ।
इकाईले केन्द्रीय निर्देशनको परिपालना र प्रदेश मातहतका कार्यालयमा आवश्यक दक्ष प्राविधिक जनशक्ति खटाउने भूमिका निर्वाह गर्नेछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतमा रहने प्रादेशिक प्रहरी कार्यालयले भविष्यमा कुनै ठूला घटना भएमा त्यसको अनुसन्धान गर्न आवश्यक जनशक्ति पठाएर समन्वय गर्नेछ ।
मन्त्रालयले पनि प्रदेश प्रहरीलाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट विनियोजन गरिसकेको छ । वीरेन्द्रनगरमा प्रहरीको नयाँ कार्यालय कुकुर शाखा र नेपालगन्जबाट स्थानान्तरण हुने ब्यान्ड गुल्म पनि स्थापना हुनेछ । एसएसपी आचार्यले संघीय संरचनाबमोजिम प्रदेशस्तरमा प्रहरीलाई आवश्यक पर्ने संरचनाहरू क्रमिक रूपमा स्थापना हुन लागेको बताए । ‘सबै संरचना स्थापना हुन कम्तीमा दुई वर्ष लाग्न सक्छ,’ उनले भने, ‘सात वटै कार्यालयका लागि आवश्यक पर्ने जग्गाको टुंगो लाग्दै छ ।’ प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरीलाई थप कार्यालयहरू राख्न उपयुक्त स्थान छनोट गर्न पत्राचार गरेको थियो ।
यसअघि जुम्लामा रहेको कर्णाली अञ्चल प्रहरी कार्यालयलाई मर्ज गरेर सोही ठाउँमा विपद् व्यवस्थापन कार्यदल राखिएको छ । ५० जना प्रहरीसहितको कार्यदलको नेतृत्व प्रहरी निरीक्षकले गर्नेछन् । तीन जिल्लामा थप ‘क’ वर्गका नयाँ इलाका प्रहरी कार्यालयहरू स्थापना गरिएको छ । सुर्खेतको लेकबेंसी नगरपालिका, कालीकोटको पाँचलझरना गाउँपालिका र सल्यानको दार्मामा इलाका प्रहरी कार्यालय स्थापना गरिएको हो ।























कर्मसञ्चार । २०७५ भाद्र १२ गते मंगलवार