दुल्लुमा दुईसय वर्ष पुरानो पौवा

दुल्लु (दैलेख) ।
दुल्लु राज्य अस्तित्वमा रहँदा खस राज्यको हिउँदे राजधानी दुल्लु र सिँजा ग्रीष्मकालीन राजधानी थियो । जब हिउँद सुरु हुन्थ्यो, परिवारसहित शासकहरू दुल्लु झर्थे ।
हिउँद सकिन्थ्यो, पुनः जुम्ला उक्लिन्थे । दुल्लु–डाडीमाडी, ब्याउली लेक, महाबुको बाटो हुँदै जुम्ला पुग्थे । सिँजा (जुम्ला) र दुल्लु दुवै राजधानी भएकाले यो बाटोमा बटुवाको ताँती नै लाग्थ्यो । काजी थिए, जसपाउ थापा । बटुवाकै सुविधाका लागि काजी थापाले पौवा बनाइदिएका थिए । दुल्लु नगरपालिका–८ पादुकामा पर्छ, पौवाघर ।

झन्डै २ सय वर्षअघि अर्थात् वि.सं. १८७६ जेठ १० गते बिहीबार पौवा निर्माण सम्पन्न भएको अभिलेख छ ।

झन्डै २ सय वर्षअघि अर्थात् वि.सं. १८७६ जेठ १० गते बिहीबार पौवा निर्माण सम्पन्न भएको अभिलेख छ । यत्तिका वर्ष बितिसक्दा समेत यो घर अझै जस्ताको तस्तै छ । यही घरमा अहिले दुल्लु नगरपालिकाले सांस्कृतिक संग्रहालय स्थापना गरेको छ । पौवाको अग्रभागमा अभिलेख छ, जहाँ पौवा, धर्मशाला र मन्दिरबारे उल्लेख छ ।
पञ्चकोशी दर्शनमा आउने पर्यटकको रोजाइमा संग्रहालय पनि छ । संग्रहालय स्थापना हुनुअघि २ सय ५० वर्गमिटर क्षेत्रफलमा रहेको पौवाघर संरक्षणविहीन थियो । राणाकालमा पौवाबाट गौंडा प्रशासन चल्थ्यो । पौवाको सम्मुखमा हनुमानको मूर्ति छ ।

भित्ता तेलिया इँटा र झिँगटीले छाइएको छ । नजिकै सिमलको रुखनेर रहेको शिलास्तम्भमा हनुमानढोका काठमाडौंदेखि दुल्लु १४० कोष दूरी उल्लेख गरिएको छ । दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीले ‘सांस्कृतिक संग्रहालय सञ्चालन ऐन’ ल्याएर ऐतिहासिक, सांस्कृतिक, पुरातात्तित्वक महत्वका सम्पदा संरक्षणमा जुटेको बताए । ‘दुल्लुको मुख्य सम्पत्ति नै इतिहास हो, रैथाने कला–संस्कृति हो,’ उनले भने, ‘त्यही भएर अन्य ऐन ल्याउनुभन्दा अघि सांस्कृतिक संग्रहालयसम्बन्धी ऐन ल्यायौं ।’

संग्रहालयमा २ सय ५० वर्ष पुरानो काठको बुट्टावाला गाता भएको हस्तलिखित स्वस्थानी किताब राखिएको छ । स्वस्थानी किताब कटुसको पातलाई पकाएर निगालोको कलमले लेखिएको हो । ढुंगाको कचौरा, ढुंगाको कोल, तत्कालीन राजा, तिनीहरूका सैनिकले प्रयोग गर्ने तरबार, त्यतिबेलाका महिलाहरूले प्रयोग गर्ने गहना, बाजालगायत १ सय ५७ ऐतिहासिक वस्तु प्रदर्शनीमा राखिएको छ ।

संग्रहालय सञ्चालनबाट पछिल्लो पुस्तालाई इतिहास, लोक कला, संस्कृति जगेर्नामा जागरुक गराउन मद्दत पुग्ने नगरपालिकाको विश्वास छ ।
नगरप्रमुख भण्डारीले नगर क्षेत्रभित्र अवस्थित विभिन्न ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार कीर्तिखम्बको संरक्षणका लागि दामु–कीर्तिपार्क निर्माण, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेखको संरक्षणका लागि तारबार गर्नुका साथै घामपानीबाट जोगाउन जस्तापाताले छाइएको छ ।

प्रकाशित मितिः   August 23, 2018 at 5:05 pm 


  • प्रतिक्रिया दिनुहोस्