प्यानद्वारा वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

सुर्खेत । प्रधानाध्यापकहरूको साझा संगठन प्रधानाध्यापक संघ नेपाल (प्यान) ले शिक्षा क्षेत्रमा गरेको उत्कृष्ट कार्य तथा अभ्यासको मूल्यांकन गरी वीरेन्द्रनगर नगरपालिकालाई कर्णाली प्रदेशको उत्कृष्ट नगरपालिकाका रूपमा पुरस्कृत गरेको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको सुधार, प्रयास तथा उत्कृष्ट अभ्यासको कदर गर्दै पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको हो । मधेश प्रदेशको जनकपुरधाममा शुक्रवार आयोजित एक औपचारिक कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट सम्मान प्रदान गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धीरेन्द्रप्रसाद शर्मा र नगर शिक्षा समिति सदस्य गंगाराम तिमिल्सेनाले उक्त पुरस्कार ग्रहण गरे ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई शैक्षिक सुधार र गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य बनाउने अभियानमा यो सम्मानले थप हौसलाका साथै प्रेरणा प्रदान गरेको बताइन् । ‘यो उपलब्धि हासिल गर्न अहोरात्र खट्नुहुने नगर शिक्षा समिति, नगर शिक्षा शाखा एवं नगरपालिकाका सम्पूर्ण विद्यालय परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछु,’ उनले भनिन् । नगरपालिकाले शैक्षिक सुधारको यात्रालाई थप प्रभावकारी बनाउन सबै सरोकारवालाको सहकार्य र हातेमालो आवश्यक रहेको जनाएको छ । यसैगरी, सोही कार्यक्रममा कर्णाली प्रदेशको उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीस्थित श्री त्रिपुरेश्वर माध्यमिक विद्यालय पुरस्कृत तथा सम्मानित भएको छ ।

प्रकाशित मितिः   November 21, 2026 at 7:29 am 


  • प्रतिक्रिया दिनुहोस्