प्यूठान, २ भदौ ।
स्वर्गद्वारी नगरपालिका–१ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन् । घरव्यवहार चलाउन समस्या भएपछि उनी कुवेत गएका हुन् । रोजगारीका लागि यसअघि समेत उनी खाडी मुलुक पुगेका थिए । कुवेत पुगेका उनी दुई महिना पुगिसकेको छ । तर, वडा अध्यक्ष मेघराज जिसीले विदेश पुगेपछि मात्र थाहा पाएको प्रतिक्रिया दिए । ‘कुवेत पुगेपछि मात्र थाहाँ पाएँ’, उनले भने, ‘जान्छु पनि नभनी जानुभएछ ।’
विदेश पुगेपछि पुनमगरले फोनमा आफूसँग चुनावमा उठेर गल्ती गरेको प्रतिक्रिया दिएको समेत सुनाए । वडा अध्यक्षमार्फत पुनमगरले जनतालाई धोका दिएकोप्रति क्षमा मागेका छन् । पुनमगरका घरपरिवारले आठ महिनाको सात हजारका दरले ५६ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । उनका घरमा बुवा÷आमासहित श्रीमती र एक छोरा छन् ।
घरव्यवहार धान्ने एक्लो जिम्मा पुनमगरकै काँधमा रहेको वडा अध्यक्ष जिसीले बताए । स्थानीय तह निर्वाचनमा पुनमगर राष्ट्रिय जनमोर्चाबाट ६ सय २७ मत ल्याएर वडा सदस्यमा विजयी भएका थिए ।
प्रकाशित मितिः August 18, 2018 at 7:32 pm













कर्मसञ्चार । २०७५ भाद्र २ गते शनिवार