
सुर्खेत । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राखिरहेका छन् । बिहीवारको बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्व छनोट अब महाधिवेशन प्रतिनिधिका हातमा रहेको बताएकी छन् । उनले अहिले नेतृत्व परिवर्तनको बहस गर्नु भनेको बेमौसमको बाजा जस्तै भएको तर्क गरेकी हुन् ।
१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको म्याद अझै १ वर्ष बाँकी रहेको र विशेष अवस्थामा ६ महिना समय थप्न सकिने विधानको प्रावधान पनि रहेको उल्लेख गर्दै नेता ढकालले अहिले जथाभावी ढंगले नेतृत्वको मानमर्दन गर्ने, तथा राजीनामा गराउने भन्ने कुरा उचित नभएको बताइन् । ‘पार्टीको ११औं महाधिवेशन हिजो घोषणा भइसकेको छ । त्यसपछि पनि नेताहरु अध्यक्षले राजीनामा दिनुपर्दछ भन्दै हुनुहुन्छ,’ ढकालले भनिन्, ‘अब कसलाई अध्यक्ष बनाउने, कसरलाई महासचिव बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिका हातमा पुगिसक्यो । महाधिवेशन अघि नेतृत्व परिवतर्न भन्ने कुरा बेमौसमको बाजा हो ।’
नेता ढकालले अध्यक्ष ओलीले पार्टी बैठकमा राखेको विशेष प्रस्तावले वर्तमान समसामयिक राजनीति, जेन–जी आन्दोलन र यसका असर तथा भावी कार्यदिशाका बारेमा स्पष्ट पारेकोले यसको पूर्ण समर्थन गरेर जानुको विकल्प नभएको बताइन् । भदौ २४ गतेको तोडफोड र आगजनीको पीडित आफू पनि भएको भन्दै यसमा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ थियो । ढकालले पार्टीले अलग्गै आयोग बनाएर उक्त घटनामा संलग्नहरूको छानविन गर्नुपर्ने मागसमेत गरिन् ।
ललितपुरको जावलाखेलमा जारी बैठकमा पहिलो दिन बुधवार ५० जना र दोस्रो दिन बिहीवार १४७ जना केन्द्रीय सदस्यले आफ्ना धारणा तथा सुझाव राखेका थिए । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । केन्द्रीय सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यदिशा, लोकतन्त्रको रक्षालगायत विषयमा सुझाव दिएका छन् । केन्द्रीय सदस्यको धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ । पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।




कर्मसञ्चार । २०८२ असोज ३१ गते शुक्रवार